काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्म लक्ष्य भन्दा २९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ ।
विभागले ३ महिनाको अवधिमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिसम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड रुपैयाँ थियो ।
गत वर्षको असोजसम्मको असुलीको तुलनामा याे असाेजमा २४ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार आयकर तर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड र अन्तःशुल्क तर्फ १२ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो ।
त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको विभागले जनाएकाे छ ।
गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई चालु अावका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ लक्ष्य तोकिएको छ ।
विभागलाई लक्ष्यभन्दा अझै २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक किशोरजंग कार्कीले निर्देशन दिएका छन् । कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन उक्त निर्देशन दिएका हुन् ।