सीईओ भन्छन्: बैंकका सुनौला दिन सकिए, ईपीएस घट्दै, लगानीकर्ता निरास हुँदैछन्

<p>काठमाडौं । चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घट्दै गएको छ ।  चुक्तापुँजी बढेपछि सेयर संख्या थपिदा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो । ईपीएस निरन्तर ओरालो लागेपछि लगानीकर्ताले पहिलाको तुलनामा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल समेत घट्नेछ । चुक्तापुँजी बढेको र पहिलो त्रैमाशमा बैंकले नाफा बढाउन नसकेपछि यो वर्ष [&hellip;]</p>

काठमाडौं । चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घट्दै गएको छ ।  चुक्तापुँजी बढेपछि सेयर संख्या थपिदा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो ।

ईपीएस निरन्तर ओरालो लागेपछि लगानीकर्ताले पहिलाको तुलनामा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल समेत घट्नेछ । चुक्तापुँजी बढेको र पहिलो त्रैमाशमा बैंकले नाफा बढाउन नसकेपछि यो वर्ष लगानीकर्ताले राम्रो ईपीएस नपाउने संभावना बढेको छ ।

नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् । गत वर्षको तुलनामा यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणले देखाएको छ ।

२ अर्ब पुँजी हुदा गरेको नाफा र ८ अर्ब रुपैयाँ पुँजी पुगेपछि सोही अनुसार नाफा नबढे यसको ठुलो असर प्रतिफलमा पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थामा यसको संकेत देखिन थालेको छ । गत आवको अन्तिममा पनि अधिकाँश बैंकको ईपीएस घटेको थियो ।

आगामी दिनमा बैंक तथा वित्तीय संस्थामा लगानी गरेर धेरै प्रतिफल लिने लगानीकर्ताले अबका दिनमा निरास हुनुपर्ने अवस्था आउन लागेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले संकेत गरेको छ ।

चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्ट बैंक र सिटिजन्स बैंकको ईपीएस गत वर्षको तुलनामा घटेको छ । गत वर्षको पहिलो त्रैमाशमा एभरेष्टको ईपीएस ७८.३१ रुपैयाँ थियो । यस्तै गत आवको असारसम्म आइपुग्दा घटेर ४४ रुपैयाँ ३२ पैसामा सीमित भएकोमा चालु आवको पहिलो त्रैमाशमा झनै घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ ।

बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड रुपैयाँ छ । बैंकले अझै १ अर्ब ८९ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । पुँजी बढाएपछि एभरेष्टको ईपीएस अझै घट्ने देखिएको छ । गत आवको पहिलो त्रैमाशको तुलनामा एभरेष्टका लगानीकर्ताले एक वर्षमा ४३ रुपैयाँ गुमाएका छन् । चालु आवको साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो ।

पहिलो त्रैमाशको वित्तीय विवरण हेर्दा एभरेष्टले नाफा बढाउन सकेको छैन् । सेयर संख्या बढ्ने र आम्दानी सोहीअनुसार नबढ्दा ईपीएसमा कमी आउनु स्वभाविक हो । चालु आवको ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्सको पनि ईपीएस घटेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । गत आवको पहिलो दोस्रो त्रैमाशमा सिटिजन्सको ईपीएस २२ रुपैयाँ ८१ पैसा थियो । गत असारसम्म घटेर १७ रुपैयाँमा झरेको थियो ।

सिटिजन्सको ईपीएस ७ रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा पनि घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ ।

बैंकको पुँजी वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि स्वतः ईपीएस घट्ने र यसले आगामी दिनमा पनि निरन्तरता आउने सानिमा बैंकका सीईओ भुवन दाहाल बताउँछन् । विकास न्युजसंग कुरा गर्दै सीईओ दाहालले भने “बैंकले धेरै नाफा कमाएर सोही अनुसार प्रतिफल दिन्छन् भन्ने दिन अब गए । बैंकका सुनौला दिन (गोल्डेन एज) सकिएको छ ।”

दाहालले भने सानिमाको ईपीएस पनि घटेको जानकारी दिदै यसलाई कायम राख्न दवाव बढेको बताए ।सेयरको संख्या ४ गुणा बढेकाले यसलाई कायम राख्न बैंकलाई चुनौति देखिएको बैंकका सीईओको भनाई छ । केही समयअघि विकास न्युजसंग कुरा गर्दै एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालले अबको चुनौति भनेको ईपीएसलाई हालको अवस्थामा कायम राख्नलाई भनेका थिए । अहिले ईपीएस जुन अवस्थामा छ त्यसलाई कायम राख्न सक्नु नै ठुलो उपलब्धी भएको उनको निष्कर्ष थियो ।

 

 

Share News