काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनी आगामी कात्तिक ३० गते आफ्नो छैटौँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीको कात्तिक १६ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुन लागेको हो ।
सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको बैठकलाई पारित गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.१०८ प्रतिशत नगद लभांश दिने भएको छ । त्यस्तै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम भएको पुँजीमा ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी करिब १० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको थियो ।