४२ वटा कम्पनी नेप्सेमा नविकरण भएनन्, २३ वटा कम्पनीको सेयर कारोबार अाजदेखि बन्द

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो भने १ गतेदेखि थप २३ वटा कम्पनीहरुको सेयर कारोबार बन्द हुने भएको छ । धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो भने १ गतेदेखि थप २३ वटा कम्पनीहरुको सेयर कारोबार बन्द हुने भएको छ ।

धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष २०७४/७५का लागि वार्षिक सूचिकरण नविकरण शुल्क नेप्सेलाई नबुझाएको कारणले उनीहरुको सेयर कारोबार रोकिने भएको हो ।

धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।

तोकिएको बुझाएर सूचिकरण नविकरण गर्ने म्याद असोज ३१ गते साँझ सकिएको र ४२ वटा कम्पनीहरु नेप्सेमा सूचिकरण नविकरण गर्न नआएको नेप्सेले जनाएको छ । ‘आज साँझसम्म सूचिकरण नविकरण नगर्ने कम्पनीको सेयर कारोबार भोलिदेखि रोक्का गर्न सम्बन्धि विभागलाई निर्देशन दिएका छौं, ती कम्पनीको सेयर कोरोबार सूचिकरण नविकरण नभएसम्म रोकिन्छ’ नेप्सेका उच्च अधिकारीले मंगलबार साँझ भने ।

नेपाल स्टक एक्सचेञ्जबाट मंगलबार साँझ प्राप्त विवरण अनुसार शुल्क नतिर्नेमा ४२ वटा नयाँ कम्पनी छन् । यस वर्ष बोटलर्स नेपाल बलाजु, बोटलर्स नेपाल तराई, यूनिलिभर नेपाल जस्तो बजारमा राम्रो ख्याती कमाएका कम्पनीहरु पनि नेप्सेलाई नविकरण शुल्क बुझाएका छैनन् ।

त्यस्तै, दिव्यशोरी हाइड्रोपावर, सेती फाइनान्स, यूनियन फाइनान्स, कुबेर मचेन्ट फाइनान्स, ललितपुर फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कावेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णली विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेशनल फाइक्रो फाइनान्स वित्तीय संस्था, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक, समता फाइक्रो फाइनान्स रहेका छन् ।

उल्लेखित विकास बैंक, फाइनान्स तथा लघुवित्त मध्ये ५ वटा बैंक तथा वित्तीइ मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेकाले यसअघि नै सेयर कारोबार रोकिएको छ ।

१९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ ।
लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटवाल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् ।

‘हामीले सबै कम्पनीलाई पत्र लेखेका छौ, फोन र इमेलबाट पटक पटक सम्झाएका छौं, सार्वजनिक सूचना प्रकाशित पनि गरेका छौं’ नेप्सेका ती अधिकारीले भने–‘बोटलर्स नेपालले भूलबस छुट्यो, भोलि नै शुल्क तिरेर नविकरण गर्छौ भनेर फोन गरेको छ । कारोबार शुरु हुनुभन्दा अघि नै शुल्क बुझाए भने बोटलर्सको सेयर कारोबार बन्द नहुन पनि सक्छ ।’

Share News