काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । तिहारमा धनत्रयोदशीका दिन द्रव्य (धनतेरास) जोड्ने विश्वास भएकाले सुनचाँदीको माग बढेको हो ।

लक्ष्मीपुजाको एक साता अगाडीदेखि सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । मंगलबार एकैदिनमा २१ करोड ७० लाख रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् ।
मंगलबार करिब ४ करोड ७० लाख मूल्य बराबरको चाँदी र १७ करोड मूल्य बराबरको सुन कारोबार भएको महासंघको अनुमान छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले मंगलबार ४० किलो भन्दा बढी सुन तथा ७०० किलो भन्दा चाँदीको कारोबार भएको जानकारी दिएका छन् ।
धनत्रयोदशीमा सुन भन्दा पनि चाँदीको कारोबारमा शत प्रतिशतले बृद्धि भएको हो। शाक्यका अनुसार लक्ष्मी पुजाको एक साता अगाडीदेखि चाँदीको कारोबार बढिरहेको छ । सामान्य अवस्थामा चाँदी दैनिक १५० किलो बिक्री हुने गरेको चाँदी आज साढे चार गुणा बढी कारोबार भएको हो ।
सुन पनि सामान्य अवस्था भन्दा १५ किलो बढी कारोबार भएको शाक्यले जानकारी दिए। उनका अनुसार अरुबेला बढिमा दिनको २० देखि २५ किलोसम्म सुन कारोबार हुन्थ्यो।
तिहारमा लक्ष्मीपुजा आउने एक साता अघिदेखि नै सुनचाँदीको कारोबार बढ्दै जाने गरेकोमा यसपाली भने ढिलो कारोबार बढेको उनले बताए । उनले भने, ’यसपाली सुनको कारोबार आइतबारदेखि मात्र बढ्न थालेको हो ।’
हिन्दु धर्मअनुसार लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो मानिन्छ । धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ । धनत्रयोशीमा सुनचाँदी खरिद गर्ने परम्परा भारतबाट सुरु भएको शाक्यले जानकारी दिए ।
’करिब १५ वर्ष अगाडीदेखि नेपालमा भारतीय टिभी च्यानलले धनत्रयोदशीमा सुनचाँदी चढाउनुपर्छ भनेर प्रचारबाजी गर्न थाल्यो । त्यसैको प्रभाव स्वरुपमा नेपालीमा धनतेरास चढाउने प्रचलन सुरु भयो । पौराणिक मान्यता अनुसार पनि लक्ष्मीपुजामा पित्तलको भएपनि भाँडा चढाउँदा फलिफाप हुन्छ भन्ने छ ।’
आज सुन चाँदी पसलहरु विशेष तवरले झकीझकाउ बनाइएको छ । नयाँ सडक क्षेत्रका सबै गहना पसलमा बिहानैदेखि ग्राहकको घुइँचो लागेको थियो । साँझ पर्दै जाँदा किन्नेको भिडभाड अझ बढेको व्यवसायीहरुले बताएका छन् ।
सुनको मूल्य समेत सस्तियो
साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । साताको पहिलो तीन दिनमा सुनको भाउ २ सय रुपैयाँ सस्तिएको छ ।
आइतबार प्रति तोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ मंगलबार ५६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।