फोहर व्यवस्थापन प्लाण्ट सहित योजना ल्याउने उद्योगले मात्र बैंकबाट कर्जा पाउने, राष्ट्र बैंकले नीतिगत व्यवस्था लागु गर्दै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले फोहर व्यवस्थापन प्लाण्ट जडान सहितको योजना ल्याउने उद्योगलाई मात्र कर्जा दिने नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्था लागु भएपछि फोहर प्रशोधनको बेग्लै प्लाण्ट जडान गर्न थप लगानी गर्नुपर्ने हुन्छ ।दातृ निकायहरुले यस विषयमा ध्यान दिन सुझाएपछि राष्ट्र बैंकले कार्यन्वयनमा ल्याउन हाल अध्ययन थालेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले फोहर व्यवस्थापन प्लाण्ट जडान सहितको योजना ल्याउने उद्योगलाई मात्र कर्जा दिने नीतिगत व्यवस्था गर्न लागेको छ ।

यो व्यवस्था लागु भएपछि फोहर प्रशोधनको बेग्लै प्लाण्ट जडान गर्न थप लगानी गर्नुपर्ने हुन्छ ।दातृ निकायहरुले यस विषयमा ध्यान दिन सुझाएपछि राष्ट्र बैंकले कार्यन्वयनमा ल्याउन हाल अध्ययन थालेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।

यस विषयमा अध्ययन गर्न अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ हाल बंगलादेशमा रहेको उनले जानकारी दिए । विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले उद्योग व्यवसायलाई स्वच्छ वातावरण कायम राख्नका लागि नीतिगत व्यवस्थाका लागि काम अघि बढाउन सुझाएपछि प्रक्रिया अघि बढाइको उनको भनाई छ ।

विश्वका धेरै मुलुकमा फोहर व्यवस्थापन उद्योग आफैले गर्ने चलन रहेकाले नेपालमा पनि यसलाई लागु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । हाल अध्ययनका क्रममा रहेकाले निष्कर्ष आएपछि लागु गर्ने तयारी राष्ट्र बैंकको छ । नेपालमा सञ्चालित अधिकांश उद्योगले वस्तु उत्पादनपछि निष्कासन हुने फोहर सिधै खोला र नदीमा पठाउने गरेका छन् ।

विकास न्युजसंग कुरा गर्दै उनले भने “अध्ययनको काम सुरु भइसकेकाले राष्ट्र बैंकले यस विषयमा केही गर्ने छ ।” उनले अध्ययनपछि मात्र यस विषयमा निर्णय लिइने बताए ।

हाल बढी फोहर निष्कासन गर्ने सिमेन्ट, डण्डी, छालाजन्य वस्तु उत्पादन, गलैचा, रंग, सावुन, कपडा, जुट लगायतका उद्योगबाट फोहर बस्तु र पानी निष्कासन हुने गरेको छ । यस्ता फोर प्रशोधन गर्न उद्योगसंग बेग्लै प्लाण्ट नहुँदा सिधै खोला तथा नदीमा मिसिने गर्दा प्रदुषण हुने गरेको छ । यसतर्फ सरकारले ध्यान दिएको छैन ।

उद्योगले वातावरणीय प्रदुषण बढाएपछि यसलाई नियन्त्रण गर्न नयाँ अवधारणा लागु गर्न लागिएको हो । अध्ययन गरेपछि यस विषयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि चाडै सर्कुलर ल्याउने जानकारी दिएको छ ।

Share News