काठमाडौं । भूकम्प पीडित २५ सय परिवारलाई एकिकृत बस्तीमा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिनुपर्ने निष्कर्ष निकालेका २५ सय परिवारका लागि एकिकृत बस्ती विकासको प्रक्रिया अघि बढाइएको हो । एकिकृत बस्ती विकासका लागि घडेरी खरिद गर्न प्राधिकरणले प्रति परिवार अधिकतम २ लाखका दरले ५० करोड रुपैंयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
‘भूकम्प प्रभावित १० जिल्लाका १५७० परिवारलाई स्थानान्तरण गर्नुपर्ने रिपोर्ट तयार भैसकेको छ, यस्तो संख्या २५ सय पुग्ने देखेका छौं, आफैं घडेरी किन्नेले अधिकतम २ लाख पाउँछन नत्र सरकारले नै एकिकृत बस्तीका लागि जमिन उपलब्ध गराउँछ’, पुननिर्माण प्राधिकरणका नापी शाखा प्रमुख कमल घिमिरेले विकासन्युजसँग भने ।
नुवाकोटमा मात्रै ३५० परिवारलाई पुरानो बासस्थानबाट सार्नुपर्ने देखिएको छ भने रसुवामा स्थानान्तरण गर्नुपर्ने पीडितहरुको तथ्यांकबारे धमाधम अध्ययन भैरहेको छ । प्राधिकरणले न्युनतम १० परिवारका लागि एकिकृत बस्ती विकास गर्न सकिने अवधारणामा काम सुरु गरेको छ । त्यसका लागि १० परिवार भूकम्प पीडितले आफैं पनि २ लाख रुपैंयाँ अनुदान लिएर संयुक्त आवास निर्माणका लागि एकिकृत जमिन खरिद गर्न सक्नेछन् ।
नुवाकोटे आफैं जुटे एकिकृत बस्ती बनाउन
नुवाकोटको उर्लेनीका ७० परिवारले एकिकृत बस्ती निर्माणका लागि जमिन खरिदको प्रक्रिया अघि बढाएका छन् । ‘उर्लेनीमा ७० परिवारले एकिकृत बस्तीका लागि ३० रोपनी जमिन खरिद गर्ने भनेका थिए तर केहि जमिन उपयुक्त देखेनौं’, प्राधिकरणको नापी शाखा प्रमुख घिमिरले भने ।
प्राधिकरणले २ महिनाको समय स्वेच्छिक स्थानान्तरणका लागि दिएको छ । त्यसपछि भने प्राधिकरणले स्थानान्तरणको प्रक्रिया आफैं आरम्भ गर्नेछ ।