काठमाडौं । एक महिनाकै अन्तरमा ६१५ जना व्यवसायी कारवाहीमा परेका छन् । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत गरेको बजार अनुगमनका क्रममा कर छल्ने ६१५ व्यवसायीमाथी कारवाही गरिएको हो । विभागले ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन शुरु गरेको थियो । ती सबै कार्यालयले ३/३ वटा टोली परिचालन गरेको थियो ।
भदौ २७ देखि हालसम्म कारोवार स्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट ३९०५ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६१५ करदातालाई प्रचलित कानुन बमोजिम जरिवाना तथा अन्य कानुनी कारवाही गरिएको हो । ६ सय १५ करदाताबाट ३८ लाख ४८ हजार जरिवाना समेत गरिएको थियो । २१ वटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको छ ।
अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो ।
अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।