काठमाडौं । आइतबार नेप्से परिसूूचक ८ दशमलब २६ अंकले बढेर १५१८ अंकमा पुगेको छ । बजारमा ५१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी डिप्रोक्स डेभलपमेन्ट बैंकको १५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको पनि १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३० अंकले बढेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः २६ र १२ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् ।
सो दिन प्रोगेसिभ फाइनान्स र बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.६२ र ९.४५ प्रतिशत कमाएका छन् ।
बजारमा सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।