काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका पीडितहरुले सरकारी अनुदानबाटै काठमाडौंमा घर बनाउन पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको असोज २४ गतेको बैठकले सरकारी अनुदानबाट छिमेकी जिल्लामा घर बनाउन पाउने सुबिधा दिएको हो । यो सुबिधा अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ७ जिल्लाका पीडितहरुले काठमाडौंमा घर बनाउन पाउनेछन् ।

सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, भक्तपुर र ललितपुरका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउनेछन् । गोरखा, रसुवा, सिन्धुली, दोलखा, काभ्रे, रामेछाप र ओखलढुंगाका भूकम्प पीडितले भने काठमाडौंमा घर बनाउन पाउने छैनन् । ‘सिमाना जोडिएको छिमेकी जिल्लामा सरकारी अनुदान लिएर घर बनाउन पाउने व्यवस्था गरेका हौं, बसाईसराईको संख्या धेरै बढ्ने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर बनाउन पाउने निर्णय गराएका हौं’, पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने ।
पुरानो घर भएको जिल्ला र नयाँ घर बनाउने जिल्ला बिचको समन्वयका आधारमा सरकारी अनुदान प्रयोग गरेर घर निर्माण प्रक्रिया अघि बढाउन सकिनेछ । ‘कुन बैंकबाट रकम लिने हो र कुन प्राबिधिकले घरको प्राबिधिक जाँच गर्ने हो भन्ने एकिन गर्नुपर्छ, यो दुई जिल्लाबिचको समन्वयले निर्धारण गर्छ’, प्राधिकरणका प्रवक्ता भुषालले भने ।
उनले बसाई सराईको अत्याधिक चाप हुने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर सार्न पाउने व्यवस्था गरिएको स्पष्ट पारे । हालसम्म ६ लाख ४० हजार ८ सय ९ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ६ लाख १ १५ हजार ४ सय ४७ परिवारले पहिलो किस्ता वापतको रकम लिएका छन् । दोश्रो किस्ता लिने भुकम्प पीडितको संख्या ८० हजार ४ सय ४१ पुगेको छ भने ८ हजार ५ सय ६२ परिवारले तेश्रो किस्ताको रकम पनि लिईसकका छन् ।
हाल १ लाख ४० हजार २ सय ४२ घर निर्माण भैरहेका छन भने ५७ हजार ७८ घर निर्माण सम्पन्न भैसकेका छन् ।