काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा बन्ने तीन वटा नयाँ शहरको डीपीआर बनाउने कम्पनीहरुको प्रारम्भिक छनौट भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले एक लाख रोपनीमा निर्माण हुने एउटा शहर र १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने दुई वटा शहरहरुको डीपीआर बनाउन प्रारम्भिक छनौटमा परेका कम्पनीहरुसँग विस्तृत प्रस्ताव(आरएफपी) मागेको हो ।

‘उपत्यकामा निर्माण हुने चार वटा नयाँ शहररुको डीपीआर बनाउन प्रस्ताव गरेकामध्ये तीन वटा शहरको डीपीआरका लागि प्रारम्भिक छनौट गरेर आरएफपी मागेका छौं’, नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीले विकासन्युजसँग भने । आयोजनाले असोज ९ गते एक लाख रोपनीमा निर्माण हुने नयाँ शहरका लागि पाँच वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर विस्तृत प्रस्ताव मागेको थियो ।

एक लाख रोपनीमा निर्माण हुने शहरको डीपीआर निर्माणका लागि आयोजनाले ग्लोबल टेण्डर आव्हान गरेको थियो । आवेदन दिएकाहरुबाट पाँच वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आरएफपी मागेको आयोजना प्रमुख खोखालीले बताए । त्यस्तै, आयोजनाले ललितपुर र भक्तपुरमा १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउन पनि ११ वटा कम्पनी छनौट गरेको छ ।
यी कम्पनीहरुले आफ्नो प्राबिधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतका विवरण पेश गरेर अब्बल ठहरिएका हुन् । अब यी कम्पनीहरुले तोकिएको अवधीभित्र आफ्नो प्रस्ताव पेश गर्नेछन् । उपयुक्त कम्पनीलाई डीपीआर निर्माणका लागि जिम्मेवारी दिईनेछ ।
यी चार वटै प्रस्तावित नयाँ शहरको भौतिक विकास योजना तथा डीपीआर निर्माणका लागि कित्ता काट र नयाँ भौतिक संरचना निर्माणमा रोक लगासकेको छ । यी नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ ।
यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । उनले यी चार वटा नयाँ शहरले आधुनिक नेपालको जग बसाल्ने दावी पनि गरेका छन् ।
कहाँ कहाँ बन्दैछन नयाँ शहर ?
इशान काठमाडौं
प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
काठमाडौं आग्नेय
उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ ।
दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।
काठमाडौं नैऋत्य
काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।
काठमाडौं उत्तर
यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।