काठमाडौं । यो वर्षको तिहारका लागि साढे ४८ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुख्खा फलफुल (ड्राइ फ्रुट) नेपाल भित्रिएका छन् । तिहारमा भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात् ड्राइ फुड सबैभन्दा बढी उपभोग हुने गर्छ ।

भन्सार विभागको दुई महिने तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउनदेखि भदौसम्म ४८ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको ड्राई फुड आयात भएको छ । तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनस्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ ।
वर्षभर आयात हुने ड्राई फुडको सबैभन्दा धेरै परिणाम तिहारअघि हुने गर्छ । तिहारमा प्रयोग हुने ड्राइ फुडमा विशेषगरी ओखर, काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, खजुर, छोकडा लगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राई फुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ ।
यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् ।
नेपालमा चीन र भारतबाट नरिवल, बेलायत, इटाली, भारत र इटालीबाट काजु, भारत, अमेरिका, यूएई, चीनबाट हाडे बदाम, भारतबाट कटुस, अमेरिका, बेलायत र भारतबाट ओखर, भारत र चीनबाट पेस्ता, इन्डोनेसिया, थाइल्यान्ड र भारतबाट सुपारी, मलेसिया, भियतनाम र भारतबाट बदाम, पाकिस्तान, कतार र भारतबाट खजुर, भारतबाटै किसमिस र सुकेको खुर्पाने, थाइल्यान्ड र बेलायतबाट सुकेको आरुबखडा नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
भाई मसलाको मूल्य
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार बजारमा अहिले सुख्खा नरिवलको मूल्य खुद्रामा पाउको ६५ रुपैयाँ देखि ७५ रुपैयाँसम्म पर्छ ।
मिश्रीका गुणस्तर अनुसार फरक-फरक मूल्य छन् । काजु पाउकै तीन सय ४० रुपैयाँ पर्छ । किसमिसको मूल्य गुणस्तर अनुसार पाउको १०० रुपैयाँ छ । यस्तै, देशी बदामको मूल्य खुद्रामा पाउको २७० रुपैयाँसम्म रहेको छ ।
तिहारमा बढी बिक्ने पेस्ताको मूल्य ३ सय १० रुपैयाँ रहेको छ । छोकडापनि गुणस्तर अनुसार पाउको ६० देखि ८० रुपैयाँ सम्म रहेको छ ।