काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास खर्च बढाउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको वजेट कार्यान्वयन द्वैमासिक समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री कार्कीले वजेट कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन दिएका छन् । विकास खर्च हालसम्म ३ प्रतिशत मात्र भएको छ ।
मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको बैठकमा बोल्दै मन्त्री कार्कीले पुँजिगत खर्च हुन नसक्ने ठुलो समस्या रहेको भन्दै आजैदेखि कार्ययोजना मुताविक विकास निर्माणका कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
सोधभर्ना लिनुपर्ने रकम फरफारक गरी वित्तीय कुशलता देखाउने दिशामा अग्रसरता लिन साथै पुँजिगत खर्च बढाउन, वित्तीय अनुशासन कायम गर्न, आफ्ना आयोजना कार्यक्रमको नियमित नियमन अनुगमन गरी आर्थिक तथा वित्तीय प्रभावकारीता बढाउन निर्देशन दिएको अर्थले जनाएको छ ।
सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले वजेट कार्यान्वयन कार्यतालिका वमोजिम कार्य सम्पन्न गर्न र लक्षित कार्यक्रमभन्दा बाहिरबाट गैरवजेटरी खर्च माग गर्ने प्रवृति वढिरहेकोले आफ्ना स्वीकृत कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु सुझाए ।
राजस्वसचिव शिशीरकुमार ढुङ्गानाले वजेटमा उल्लेखित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न र आयोजनाहरु समयमै सम्पन्न गर्न कार्यान्वयनमा समस्या देखिएमा समस्या समाधानका लागि मन्त्रालय सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
छलफलमा विभिन्न मन्त्रालयका सचिवहरुले वजेट कार्यान्वयनको सिलसिलामा स्थानीय स्तरमा जनशक्तिको न्यूनताले समस्या सृजना भएको जानकारी गराएका थिए ।