काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

मंगलबार सम्पन्न यस नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै सेयर जारी गरी सक्ने कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, संस्थापकबाट ४ करोड २० लाख रुपैयाँ चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड पुग्ने कम्पनीले जनाएको छ ।
सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको यस संस्थाको हालसम्म ८ वटा शाखा कार्यालय रहेको छ ।