काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन १९ करोड ७३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको छ ।
कम्पनीले मंगलबार हकप्रद निश्कासन सम्बन्धि सूचना प्रकाशित गरी कात्तिक १२ देखि मंसिर १८ गतेसम्मका लागि बिक्री खुला गरेको जानकारी दिएको छ । बैंकले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता हकप्रद बिक्री गर्ने भएको छ ।
बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापुँजी ६९ करोड रुपैयाँ पुग्ने छ ।
इच्छुक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटल मार्केट्स र गुहेश्वरी मर्चेन्टको सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन भर्न सक्नेछन् । साथै, सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरु बाट हकप्रद सेयर भर्न सक्नेछन् ।