काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड ल्याएको छ । सिद्धार्थले आफ्नो तेश्रो म्युचुअल फण्डका रुपमा १० वर्षे इक्वीटी फण्ड ल्याएको हो । असोज २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने यो फण्डमा १० रुपैंयाँ मूल्यका न्युनतम एक सय ईकाईदेखि अधिकतम २ करोड ४० लाख मुल्यको २४ लाख ईकाईका लागि आवेदन दिन सकिन्छ ।

फण्डको १५ प्रतिशत सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८५ प्रतिशत अर्थात १अर्ब २ करोड मूल्य बराबरको १० करोड २० लाख ईकाईमा भने अन्य संस्था तथा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । यसअघि नै २ वटा म्युचुअल फण्डहरुको सफल कार्यान्वयन गरिहरेको कम्पनीले यसपाली तीन गुणा आवेदन पर्ने अपेक्षा गरेको छ ।
‘हामीले अघिल्ला २ वटा म्युचुअल फण्डहरुमा राम्रो प्रतिफल दिईरहेका छौं, तेश्रो फण्डका लागि मागको तीन गुणा बढि आवेदन पर्ने अपेक्षा गरेका छौं’, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने ।
कम्पनीले पहिलो पटक ५० करोड रूपैयाँको म्युचुअल फण्ड ल्याएको थियो । साढे ४ वर्षे अवधीमा सो म्युचुअल फण्डले १२४.५ प्रतिशत प्रतिफल दिईसकेको छ । त्यस्तै, कम्पनीले साढे २ वर्ष अघि ल्याएको एक अर्बको दोश्रो म्युचुअल फण्डले ४१ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिईसकेको छ ।
सिद्धार्थ इक्वीटी फण्डले औषतमा २५ प्रतिशतका दरले प्रतिफल दिने प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले दावी गरे । ‘म्युचुअल फण्डमा हामी अब्बल सावित भैसकेका छौं, २५ प्रतिशतको औषत प्रतिफल दिन कुनै समस्या हुन्न’, तिमल्सिनाले विकासन्युजसँग भने ।