काठमाडौं । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ ।
विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । बैंकले हालै शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।
बैंकको वार्षिक बैठकमा भाग लिन अर्थसचिव डा. शान्तराज सुवेदी अमेरिका जादैछन् । यो वैठकमा विश्व बैंकको सहायतामा सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने सचिव सुवेदीले बताए ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष कारणवस नजाने भएपछि नेपालको नेतृत्व गर्दे सचिव सुवेदीले बैठकमा भाग लिने भएका हुन् ।
उनकाअनुसार विश्व बैंक थप सहयोग गर्न सकरात्मक भएको छ । उसले शुन्य ब्याज दरमा थप रकम ऋण दिने संकेत समेत गरेको उनले जानकारी दिए । बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५० हजार २५१ निजी आवास निर्माण सम्पन्न भएका छन् । यस्तै १ लाख ३० हजार २३४ घर निर्माणधिन अवस्थामा छन् ।
हालसम्म ९ लाख ९६ हजार १६२ घरको सर्वे भएको छ । यसमध्ये लाभग्राहीको सूचीमा ७ लाख ६५ हजार ६१८, ६ लाख ४० हजार २७० संग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता वापत ६ लाख ९ हजार ९४० लाई वितरण भइसकेको छ । यस्तै दोस्रो किस्ता ७९ हाजार ११४ र तेस्रो किस्ता ७ हजार ९९४ लाई वितरण गरिएको प्राधिकरणले जनाएको छ ।