काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनले नेपालमा काम गर्न गाह्रो भएको गुनासो गरेको छ । नेपालमा विभिन्न प्रक्रियागत झमेलाले काम गर्न गाह्रो भएको गुनासो गरेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए । ७५० मेगावाट क्षमताको पश्चिमसेती जलासययुक्त आयोजना बनाउन नेपालमा विभिन्न झमेलाको सामना गर्नुपरेको थ्री गर्जेजको दावी छ ।

समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको ५ वर्ष बितिसक्दा पनि पश्चिम सेतीको काम प्रारम्भीक चरणमा छ । ०६९ भदौमा लगानी बोर्ड र थ्री गर्जेजबीच आयोजना बनाउन एमओयु भएको थियो ।
ऊर्जामन्त्रीले भने “काम गर्न समस्या भएकाले आयोजना अघि बढाउन नसकेको गुनासो गरेको छ ।” समस्या भएपछि उसले आयोजनाबाट फिर्ता हुने निर्णय भने गरेको छैन् । “हामी भन्दा १ वर्षपछि समझदारीपत्र (एमओयु ) गरेको थ्री गर्जेजले पाकिस्तानमा साढे ७ सय मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरिसकेको छ” उनले भने “ नेपालमा एमओयु गरेको ५ वर्ष भयो आयोजना जहाँको त्यही छ ।”
आयोजना अघि नबढनुमा नेपालको नियम कानून, कर्मचारीतन्त्र र राजनीतिक दल दोषी भएको शाहीले आरोप लगाए । विभिन्न झमेलाले गर्दा आयोजना समयमा नबन्ने गरेको उनको गुनासो छ ।
“विदेशी लगानीकर्ता विमानस्थलमा झरेपछि पैसा बुझाउन थाल्नु पर्ने अवस्था छ” उनले प्रश्न गरे “यस्तो अवस्थामा नेपालमा कसले लगानी गर्छ ? ।” केन्द्रमा कर्मचारी, राजनीतिक दल र स्थानिय तहमा टाठाबाठालाई पैसा दिएपछि मात्र काम हुने गरेको उनले बताए । यता लगानी बोर्डले आउदो नोभेम्बरभित्र आयोजना निर्माणको कार्ययोजना तयार गर्न साझेदार नेपाल विद्युत प्राधिरकण र थ्री गर्जेलाई भनेको छ ।
६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।
आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । नेपाली र चिनियाँ लगानीमा ७५ मेगावाट क्षमताका २ आयोजना सम्पन्न भएका छन् ।
५० मेगावाटको माथिल्लो मस्र्याङदी ए आयोजना सिनो हाइड्रो कर्पोरेशन र २५ मेगावाटको माथिल्लामो मादी ए चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनको लगानीमा सम्पन्न भएको हो ।