काठमाडौं । यसपाली तिहारका लागि भारतबाट करिब ९० लाख रुपैयाँ बराबरको सयपत्रीका माला आयात हुने भएका छन् ।

भारतको कलकत्ताबाट आयात गरिने सयपत्री माला लक्ष्मी पुजाको दुई दिन अगाडी आइपुग्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कुसजुले बताए । गत वर्ष तिहारमा दुई लाख माला आयात गरेकोमा यसपाली तीन लाख माला आयात गर्ने योजना रहेको उनले जानकारी दिए ।
गत वर्षभन्दा यो वर्ष तिहारमा चाडै सुरु हुनेभएकाले सयपत्रीको आन्तरिक उत्पादनले बजार नधान्ने भएकाले आयात बढाउनु परेको उनले बताए । ‘नेपालमा कात्तिकको मध्यदेखि मात्र राम्रोसँग सयपत्री फुल फुल्छ,’ उनले भने, ‘यो वर्ष तिहार कात्तिक ४ गते सुरु हुन्छ । अधिकांश किसानले व्यवसायिकरुपमा भन्दापनि तिहारलाई मध्य नजर गरेर खेती गर्ने भएकाले यसपाली समयमा नै उत्पादन नभएको हो ।’

गोदावरी र मखमली फूलमा भने नेपाल आत्मनिर्भर भइसकेको छ । अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ।
एसोसिएसनका अनुसार भारतबाट आयातित सयपत्री मालाको खरिद मूल्य ३० रुपैयाँ प्रति माला पर्छ । यसको बजार मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । गत वर्षभन्दा यसपाली सयपत्रीमालाको मूल्य १० प्रतिशतले महंगिएको कसजुले जानकारी दिए । गोदावरीको बजार मूल्य ४०-५० रुपैयाँ रहेको छ भने गोदावरीको एक सय देखि तीन सय रुपैयाँसम्म रहेको उनले बताए । उनले भने, ‘ उपभोक्ताले गोदावरी माला डिजाइनका आधारमा किन्ने गरेका छन् । आकर्षक डिजाइन छ भने मंहगोमा पनि गोदावरी माला किन्छन् ।’

सम्पूर्ण पुजाकार्यमा सयपत्री फुलको प्रयोग हुने भएकाले तिहारमा यसको माग बढेको हो । यसपाली तिहारमा फुलको माग १५ लाख पुगेको कुसजुले जानकारी दिए । जसमध्य ११ लाख सयपत्री, तीन लाख मखमली र एक लाख गोदावरी तथा अन्य फुल रहेका छन् । सामान्य अवस्थामा मालाको माग दैनिक १०-१५ हजार मात्र रहेको छ ।
नेपालमा चितवन, मकवानपुर, धादिङ, भक्तपुर र काभ्रेलाई सयपत्री फुलको हब मानिन्छ । मखमलीका लागि भक्तपुर र ललितपुर विख्यात छ । गोदावरी फुल काठमाडौं र काभ्रेका केही स्थानमा पाइन्छ ।