काठमाडौं । पुँजी बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ४९.६ मेगावाट क्षमताको सुपरदोर्दीखोला आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोपावरले सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ निष्कासनको तयारी थालेको हो ।

आईपीओ निष्कासन गर्न कम्पनीलाई लिमिटेडमा परिणत गर्नका लागि प्रक्रिया शुरु भएको छ । कम्पनीलाई लिमिटेडमा रुपान्तरण गरेपछि आउदो पुसदेखि आईपीओका लागि काम सुरु गर्ने कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । विकास न्युजसंग कुरा गर्दे उनले ढिलोमा आगामी १ वर्षभित्र आईपीओ निष्कासन गरिसक्ने जानकारी दिए ।
कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने उनले बताए । जसमध्ये १० प्रतिशत स्थानियबासिन्दा र २० प्रतिशत सर्वसाधारणलाई हुनेगरी सेयर संरचना तयार पारिएको छ । कम्पनीमा अहिले १ हजार ५ सय भन्दा बढी संस्थापक सेयरधनी छन् ।
प्रभावित लम्जुङबासिले सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडमार्फत २७ करोड रुपैयाँ संस्थापक सेयर लगानी गरेको छन् । ६० प्रतिशत अन्य र १० प्रतिशत स्थानियको संस्थापक सेयर लगानी छ । बाँकी ३० प्रतिशत आईपीओबाट लगानी जुटाउने गरी कम्पनीले लगानी संरचना तयार पारेको रायमाझीले जानकारी दिए ।
आयोजना बनाउन ८ अर्ब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । नविल बैंकको अगुवाईमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संचय कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलगायत १० वित्तीय संस्थाले ५ अर्ब ८० करोड रुपैयाँ आयोजनामा लगानी गरेका छन् । बाँकी संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।
आयोजनाको सुरुङ निर्माणको काम सुरु भइसकेको उनले बताए । रायमाझीका अनुसार आयोजना ढिलोमा आउदो ०७७ असारसम्म सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरणले दोर्दीकरिडोरमा प्रसारणलाइन निर्माणमा ढिलाइ गरिरहेकाले आयोजना निर्माण पनि पछि धकलिएको हो ।
आयोजनाको अडिट सुरुङ सम्पन्न भई मुल सुरुङ खन्ने काम पनि सुरु भएको छ । बाँधको काम पनि अब सुरु हुने उनले जानकारी दिए । आयोजनाको झण्डै ५ किलोमिटर लामो सुरुङ खन्नुपर्ने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता (पीपीए) गरेको छ । जसअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आयोजना लम्जुङको ढोढेनी र फलेनीमा पर्छ ।
आयोजनाबाट वार्षिक ३० करोड १५ लाख युनिट बिजुली उत्पादन हुने छ । जसअनुसार २४ करोड ४१ लाख वर्षामा र ४ करोड ५३ लाख युनिट बिजुली सुख्खायाममा उत्पादन हुने छ ।
आयोजनाको प्रतिकिलोवाट लागत करिव १७ करोड रुपैयाँ छ भने आन्तरिक प्रतिफल १६.९ प्रतिशत हुने कम्पनीले गरेकाृे वित्तीय विश्लेषणमा उल्लेख छ । हेड ६०२ मिटर भएकाले आयोजना आर्थिक रुपमा आर्कषण देखिएको छ ।
कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको संभाव्यता अध्ययन थालेको छ । सुपरदोर्दी सम्पन्न हुने बेलामा हिमचलुली दोर्दीको पनि निर्माण सुरु हुने उनको भनाई छ ।