काठमाडौं । स्मार्ट काठमाडौं बनाउने अभियानमा अव्यवस्थित तारहरुले चुनौती थपिदिएको छ । राजधानीका सडकमा रहेका पोलहरुमा रहेका टेलिफोन, केबल, इन्टरनेट र विद्युतका तारहरुले स्मार्ट काठमाडौं निर्माणको अभियानमा ठुलै चुनौती थपिदिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकालाई स्मार्ट सीटी बनाउने योजना अधिकांश दलका घोषणा पत्रमा समेटिएको थियो । तर निर्वाचित जनप्रतिनिधीले त्यसमा अगुवाई गर्न सकेनन् ।

मोहन बस्नेत सञ्चार मन्त्री भएपछि उनले साउन ३१ गते मन्त्रालयमै सर्वपक्षिय बैठक डाकेर उपत्यकामा अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने योजना अघि सारेका थिए ।
मन्त्री बस्नेतकै उपस्थितीमा नेपाल दुर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, केबल टेलिभिजन प्रसारक महासंघ, इन्टर सेवा प्रदायकहरुको संस्थाका प्रतिनिधी, काठमाडौं महानगरपालिकाका प्रतिनिधी र शहरी विकास मन्त्रालयका सचिवले अव्यवस्थित तार हटाउने उद्घोष गरेका थिए ।
‘हामीले १५ दिनभित्रै त्रिपुरेश्वर–कलंकी सडकमा रहेका अव्यवस्थित तार हटाउने घोषणा गरेका थियौं तर सडक विस्तारको काम नसकिएकाले त्यहाँ काम अघि बढाउन सकिएन, अहिले माइतीघर–बालुवाटारको काम अघि बढाएका छौं’, सञ्चार मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार तार हटाउने काम केलब टेलिभिजन प्रसारक संघ र इन्टरनेट सेवा प्रदायकहरुले गर्ने छन् । काटिएको तारको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ र सो वापतको सम्पुर्ण रकम नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार विकास कोषबाट उपलब्ध गराउनेछ ।
सोही बैठकले १५ दिन भित्रै सम्बन्धित कम्पनीले आफ्नो तारमा लोगो राख्नुपर्ने सहमति पनि भएको थियो । तर अहिलेसम्म कुनै पनि कम्पनीले लोगो टाँस्ने काम गरेका छैनन् । राजधानीमा अब बन्ने नयाँ सडकमा भने तारहरुको उचित व्यवस्थान गर्ने योजना बनेको छ ।