भारतबाट थप ५५ मेगावाट बिजुली आयात नहुने, लोडसेडिङ हटाउन विद्युत प्राधिकरणलाई चुनौती

<p>काठमाडौं  । लोडसेडिङ हटाउन भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली आयात नहुने भएको छ । ढल्केबरमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) संग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि थप बिजुली आयात नहुने भएको हो । थप बिजुली आयात नुहने भएपछि विद्युत प्राधिकरणलाई लोडसेडिङ मुक्त कायम राख्न चुनौती थपिएको छ [&hellip;]</p>

काठमाडौं  । लोडसेडिङ हटाउन भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली आयात नहुने भएको छ । ढल्केबरमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) संग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि थप बिजुली आयात नहुने भएको हो ।

थप बिजुली आयात नुहने भएपछि विद्युत प्राधिकरणलाई लोडसेडिङ मुक्त कायम राख्न चुनौती थपिएको छ । विद्युत प्राधिकरणले ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण गरेर भारतको मुज्जफपुरबाट यो वर्ष २ सय मेगावाट बिजुली आयातको तयारी गरेको थियो ।

ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर १४५ मेगावाटसम्म बिजुली आयात भएको छ । यो वर्ष ४ सय केभी क्षमताको प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर आपूर्ति बढाउने प्राधिकरणको योजना थियो ।

प्राधिकरणले सीसीपीजीसंग ठेक्का तोडेको प्रवत्ता प्रवल अधिकारीले बताए । ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु नभएकाले थप बिजुली आयात नहुने उनले स्पष्टपारे ।

“यो वर्ष ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट २ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको थियो” अधिकारीले विकास न्युजसंग भने “ठेक्का तोडिएपछि थप बिजुली आयातको संभावना रहेन । यो वर्ष १४५ मेगावाट मात्र आयात हुने अवस्था आएको छ ।

सीसीपीजीसंग ढल्केबर, इनरुवा र हेटौडा गरी ३ वटा सवस्टेशन निर्माणको ठेक्का तोडिएको उनले जानकारी दिए । उनका अनुसार ३ वटा सवस्टेशनको काम रोकिएको छ । ढल्केबरमा ८० प्रतिशत काम सकिएको र २ महिनाभित्र सवस्टेशन सञ्चालनमा आउने थियो ।

टनकपुरमा १ सय एमबीए क्षमताको ट्रान्सफरमर जडान गरेर आयात बढाउन सकिने उनले बताए । अधिकारीका अनुसार त्यहाँ ५० एमबीएको ट्रान्सफरमर छ ।

यसअघि सीसीपीजीले ठेक्को तोड्ने भएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सव–स्टेशन निर्माण सक्न ४ बुदे निर्णय गराएका थिए । सिसिपिजीले सव–स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको थियो ।

यो सव–स्टेसन बनेको भए भारतबाट थप ५५ मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने थियो । यो वर्षको हिउँदमा भारतबाट ४ सय ८० मेगावाटसम्म बिजुली ल्याउर्ने प्राधिकरणको तयारी थियो ।

प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारणलाइनको ठेक्का तोडी करिब ३० करोड रुपैया“ बैक ग्यारेन्टी जफत गरेपछि सीसीपीजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव–स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए ।

गत वर्ष प्राधिकरणले हिउ“दमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारणलाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो ।

सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बाँकी छन् ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव–स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव–स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । यसले आयोजनाको लागत पनि बढाएको छ । प्रसारणलाइनको क्षमता बढाउदै लगेर सन् २०१९ सम्म ४ सय केभीमा चार्ज गर्ने योजना छ ।

आउदो हिउँदमा लोडसेडिग हटाउन भारतबाट ५८० मेगावाटसम्म बिजुली किन्ने योजना विद्युत् प्राधिकरणको छ । कुलेखानी आयोजनाको जलासय पनि नभरिने र सवस्टेशन नबनेका कारण ५५ मेगावाट बिजुली नआउने भएपछि माग व्यवस्थापन गर्न प्राधिकरणलाई जटिलता थपिएको छ ।

 

 

Share News