इसेवाले गैर कानुनी काम गरेको खुलासा

<p>काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीले गैर कानुनी काम गरेको खुलासा भएको छ । ढकाल प्रबन्ध निर्देशक(एमडी) रहेको इसेवा नामक कम्पनीले भिओआइपीकै शैलीमा राजश्व छलि तथा नेपाली मुद्रा गैर कानुनी रुपमा विदेश पठाउँदै आएको रहस्य फेला परेको हो । इसेवाले भाइबर आउटको रिचार्जका लागि भन्दै लाखौं नेपाली मुद्रा गैर कानुनी रुपमा बिदेश [&hellip;]</p>

काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीले गैर कानुनी काम गरेको खुलासा भएको छ । ढकाल प्रबन्ध निर्देशक(एमडी) रहेको इसेवा नामक कम्पनीले भिओआइपीकै शैलीमा राजश्व छलि तथा नेपाली मुद्रा गैर कानुनी रुपमा विदेश पठाउँदै आएको रहस्य फेला परेको हो ।

इसेवाले भाइबर आउटको रिचार्जका लागि भन्दै लाखौं नेपाली मुद्रा गैर कानुनी रुपमा बिदेश पठाएको हो । इसेवाले भाइबर आउटको रिचार्जका नाममा गैर कानुनी कारोबार गरेको तथ्य फेला परेसँगै नेपाल दुर सञ्चार प्राधिकरणले असोज १० गते सार्वजनिक सूचना प्रकाशित गरेर भाइबर आउटको रिचार्ज नबेच्न भनेको थियो । तर इसेवाले त्यस अघि नै ३ महिनासम्म भाइबर आउटको रिचार्जमा लाखौं कारोबार गरिसकेको थियो । ‘इसेवाले भाइबर आउटको रिचार्ज गरेको थाहा पाएपछि नै हामीले सार्वजनिक सूचना निकालेर त्यस्तो नगर्न भनेका हौं’, दुर सञ्चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणको नियमन विभाग प्रमुख समेत रहेका निर्देशक विजय कुमार रायले भने ।

प्राधिकरणले भाइबर आउट मार्फत हुने फोन कललाई भिओआइपी सरह गैर कानुनी कारोबारे सूचिमा राख्दै आएको छ । यद्यपी इसेवाले ३ महिनासम्म गरेको गैर कानुनी कामबाट भने मुक्ति पाएको छ । इसेवाले ३ महिनासम्म भाइबर आउटको रिचार्ज गरेको देखियो, त्यस वापत कुनै कारवाही हुन्छ वा हुन्न ? भन्ने विकासन्युजको प्रश्नमा प्राधिकरणका निर्देशक रायले भने–‘उसले यस अघि राम्रो काम गर्दै आएको छ, त्यसले अबदेखि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन नगर्ने सर्तमा उसलाई छाडेका छौं ।’

इसेवाका प्रबन्ध निर्देशक ढकालले पनि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको स्विकार गरे ।‘हामीले २ देखि ३ महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेका हौं, प्राधिकरणले सूचना निकाल्नु भन्दा अघि नै हामीलाई जानकारी दिएको थियो र हामीले त्यस्तो सेवा बन्द गरिसकेका थियौं’, ढकालले विकासन्युजसँग भने । उनले भाइबर आउटको रिचार्ज सेवा सञ्चालनलाई ठुलो बिषय बनाउन नहुने दावी समेत गरे ।

नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको थियो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबारबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेपछि हामी चनाखो भएका हौं, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीन्छ’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने ।

उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । प्राधिकरणले तीन महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको इसेवालाई पहिले राम्रो काम गरेको भन्दै उन्मुक्ति दिएको हो । प्राधिकरणले मौखिक रुपमा भाइबर आउटको रिचार्ज सेवा बन्द गर्न आग्रह गरेर मात्रै सार्वजनिक सूचना निकालेको हो ।

इसेवाले यस अघि पनि अनधिकृत रुपमा नेपाल विद्युत प्राधिकरणको विल पेमेन्ट लगायतका सेवा सञ्चालन गरेर सेवाग्राहीसँग शुल्क असुल्दै आएको थियो । पछिल्लो पटक भने विद्युत प्राधिकरणले महशुल उठाउन इसेवा लगायतका कम्पनीसँग सेवा शुल्क नलिने सर्तमा सम्झौता गरेको छ।

Share News