काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ ।

प्राधिकरणले न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ७ वर्ष अर्थात ०७९ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।
३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना बाहेक सबै निजी लगानीमा निर्माण हुन लागेका हुन् । पीपीए भएपछि मात्र आयोजनाले बैंकबाट कर्जा पाउछन् ।माथिल्लो त्रिशुली ३ बी प्राधिकरणलको पनि ३० प्रतिशत लगानी हुनेछ ।
पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पछिल्लो समयमा प्राधिकरणले सोलारको पीपीए खुला गरेपछि एक दर्जन बढी आयोजना बिजुली बिक्रीको लाइनमा छन् ।
पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् ।
यी मध्ये ३२ मेगावाटको करुवासेती आयोजना आउदो ०७९ साल बैशाखमा सम्पन्न हुने भएको छ । माथिल्लो त्रिशुली ३ बी ०७८ को असोजमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी ३ महिनामा विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ ।
२०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ ।
प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।