काठमाडौं । आयात बढेपछि विदेशी विनिमय सञ्चिति पनि घटेको छ । विदेशी मुद्रा संचिति घटेर १० खर्ब ७८ रुपैयाँमा सीमित भएको छ । गत असारमा विदेशी विनियम संचिती १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.२ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४१.५, १०० र ४१.३ प्रतिशत रहेका छन् ।
गत साउनमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर रहेको थियो । साउनमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०२.२९ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रहेको थियो ।
स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले गत साउनमा सरकारको २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।