काठमाडौं । नेपाली सेनाले ६०१ किलो मिटर सडक निर्माणको काम तिब्र गतिमा अघि बढाईरहेको छ । सरकारले रणनीतिक महत्वका सडकहरुको निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने गरेको छ । ‘कठिन भौगोलिक बनोट भएका रणनीतिक महत्वका सडकहरु हाम्रै सिफारिसमा नेपाली सेनालाई दिने गरिएको हो, अहिले उत्तर दक्षिण करिडोरका केहि सडकमा सेनाले काम गरिरहेको छ’, सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने ।
सिग्देलका अनुसार नेपाली सेनालाई कठिन भुगोल भएका सडकको ट्रयाक खोल्ने जिम्मेवारी दिने गरिएको हो । यद्यपी पछिल्लो पटक सेनाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको भने पुरै निर्माण गर्ने जिम्मेवारी पाएको छ । बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकले ७६.२ किलोमिटर लामो फास्ट ट्रयाक चार बर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई दिएको हो ।
यी हुन सेनाले धमाधम बनाईरहेका सडक
कर्णाली करिडोर १९६.३४ किलोमिटर
जाजरकोट–डोल्पा–दुनै ११८ किलोमिटर
कालिगण्डकी करिडोर ७६ किलोमिटर
बेनिघाट–आरुघाट–लार्के भञ्ज्याङ ११८ किलोमिटर
मैलुङ–स्याफ्रुबेसी १७ किलोमिटर
काठमाडौं–निजगढ फास्ट ट्रयाक ७६.२ किलोमिटर
नेपाली सेनाले यस अघि २०४५ सालमै अरनिको राजमार्गको बाह्रबिसे सडक खण्ड निर्माण गरेको थियो भने २०५० सालमा त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा पनि काम गरेको थियो । त्यस्तै, २०६५ सालमा सप्तकोशीमा आएको बाढीका कारण सडकमा क्षतिपुगेपछि वैकल्पिक मार्गको निर्माण पनि सेनाले नै सम्पन्न गरेको थियो । २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो खसेर बनेको कृतिम तालको पानी सहज ढंगले निकास गराएको थियो । त्यस बाहेक सेनाले इम्जा ताल ७ करोड लिटर पानी घटाएर विस्फोटनबाट जोगाएको थियो ।
नेपाली सेनाको इञ्जिनियरिङ विभागका प्राबिधिक उप रथी योगेन्द्र बहादुर खाँणले देशको विकासमा सेनाले आफ्नो दायीत्व कुशलता पुर्वक निर्वाह गरेको बताउँछन् । उनले उत्तरदक्षिण करिडोरका सडकहरुको ट्रयाक खोल्ने कार्य तोकिएको समयमै सम्पन्न गर्ने र फास्ट ट्रयाकको निर्माण पनि आगामी ४ बर्षभित्रै पुरा गर्ने बताए । ‘फास्ट ट्रयाकको निर्माण आगामी चार बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य र कार्ययोजनासहित काम अघि बढाएका छौं’, उप रथी खाँणले भने ।
सांसद गुरु बुर्लाकोटीले नेपाली सेनाको क्षमतालाई अभिवृद्धि गरेर विकास निर्माणको अन्य काममा समेत लगाउनुपर्ने धारणा राखे । संसदको विकास समिति बैठकमा बोल्दै उनले भने–‘सेनाले पेट्रोल पम्प चलाउने र व्यापार गर्ने काम छाडेर अब विकासका काम ध्यान दिनुपर्छ, विकासका काममा सेनाको सहयोग अपरिहार्य भएको छ ।’