काठमाडौं । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण गराइदिन दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताएका छन् ।
बुधबार नेपाल चेम्वर अफ कमर्स कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक सिटौलाले भने–‘सम्पती शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको छ ।’
सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको उनले बताए । अकुत सम्पत्ति कमाउनेहरुलाई आफ्नै धनले पोलिरहेको उल्लेख गर्दै उनले भने ‘वदमासी नगरी मेहनतबाट जतिसुकै सम्पत्ति कमाए पनि त्यो बैध हुन्छ, डराउनु पर्दैन ।’
अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको खाँंचो पनि उनले औंल्याए । आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन नहुनेमा उनले विशेष जोड दिए ।
नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्टिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल राष्ट वैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गरे ।

नेपाल युथ चेम्वरका सदस्य एवं कार्यक्रम संयोजक आरती राज्यलक्ष्मी राणाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन् । कार्यक्रममा चेम्वरका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, युवा उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको नेपाल चेम्बर अफ कमर्सले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।