काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण शुरु गरेको छ । बुधबार दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहमा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण शुरु गरेको हो ।
कम्पनीका अनुसार डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुनेछन् ।
यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुनेछ । यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुग्ने डिशहोमको विश्वास रहेको छ ।
डिशहोमका यी नयाँ च्यानलहरु हेर्नको लागि ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ । बेसिक, मिडियम, डिलक्स र सुपर एच.डी. प्याकेज हेरिरहेका ग्राहकहरुले न्युन रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एच.डी. प्लस प्याकेज लिन सक्नेछन् । प्लस प्याकेजमा रमाईलो टिभि र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानलहरु, कार्टुन च्यानल तथा अन्य डिशहोमका च्यानलहरु पनि हेर्न पाउनेछन् ।
नयाँ च्यानलहरु संगै डिशहोमले नेपाली चलचित्रहरु रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने “डिशहोम सिनेमाघर” नाम गरेको सेवा पनि सुरु गरेको छ । यस सेवा अन्तर्गत डिशहोमले धुम-२ र लिला चलचित्र रिलिज भएकै दिन सफलतापुर्वक प्रशारण गरिसकेको छ । डिशहोमको यस सेवा मार्फत नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ मञ्च पाएको र यसबाट आफुहरु निकै उत्साहित भएको विभिन्न नेपाली चलचित्रकर्मीहरुले बताएका छन् ।
ग्राहकहरुले चलचित्र प्रशारण हुने दिनमा एस.एम.एस पठाएर वा डिशहोम ग्राहक सेवामा फोन गरेर यो सेवा लिन सक्नेछन् । डिशहोमले आफ्नै नयाँ च्यानलहरु निरन्तर थप्दै जाने र कम्तीमा १५ देखि २० वटा सम्म आफ्नै च्यानलहरु बनाउने लक्ष्य राखेको छ ।
साथै, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाईब्रिड एच.डी. कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्ने कम्पनीले जनाएको छ ।