काठमाडौं । ‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन’, बुधबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले भावुक हुँदै भने ।
बुधबारको बैठकले चार दिनभित्र(असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रि परिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पुर्ण विवरण पेश गर्न पनि निर्देशन दिएको छ । समितिले अर्काे बैठकमा प्रधानमन्त्रीसँग बयान लिने निर्णय पनि गरेको हो ।‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा सम्माननिय प्रधानमन्त्रीसँग छलफल गर्छाै’, सभापति उपाध्यायले बैठकको निर्णय सुनाउँदै भने ।
समितिको बैठकमा सांसदहरुले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिएर अघिल्लो सरकारका उर्जा मन्त्री जनार्दन शर्माले ठुलो आर्थिक चलखेल गरेको आरोप लगाएका थिए । उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमितता रोक्ने अभियानमा खुट्टा नकमाउन सभापति उपाध्यायको ध्यानाकर्षण पनि गराएका छन् ।