काठमाडौं । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत धमाधम बजारबाट पैसा उठाउन थालेको छ ।
अघिल्लो साता १ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले आज बुधबार बजारबाट थप ५ अर्ब रुपैयाँ उठाउदै छ । यो रकम एक सातालाई उठाएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न थालेका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । राष्ट्र बैंकले बढी भए बजारबाट प्रशोचन र कम भए बजारमा पैसा पठाउने काम गर्दे आएको उनको भनाई छ । पौडेलले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँ बढी तरलता रहेको जानकारी दिए ।
तरलता बढ्दै गएपछि बैंकले धमाधम मुद्धती निक्षेपको ब्याज दर घटाउन थालेका छन् । गत वर्ष मुद्धति ब्याज दर १३ प्रतिशत बढी भएकोमा अहिले घटेर ९ प्रतिशत हारहारीमा आएको छ । निक्षेपको ब्याज दर घटेपछि कर्जाको ब्याज दरमा पनि कमी आउने भएपछि ऋणलाई फाइदा हुने छ । बजारमा अझै तरलता बढ्दै जाने भएकाले निक्षेपको ब्याज अझै घट्ने अनुमान बैंकरको छ ।
बजारमा तरलता बढ्दै गएकाले बैंकिङ प्रणाली अब सहज अवस्थामा आएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाह बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले बजारमा तरलता बढ्दै गएकाले विस्तारै निक्षेप र कर्जा दुबैको ब्याज दर घट्दै जाने संभावना रहेको जानकारी दिए । उनले बजारमा ५० अर्ब रुपैयाँ बढी तरलता रहेको बताए ।
तरलताको अवस्था सहज भएमा दोस्रो त्रैमाशदेखि निक्षेप र कर्जा दुबैको ब्याज दरमा कमी आउने उनको भनाई छ । “हामीले १४ प्रतिशतसम्म ब्याज तिरेर बजारबाट अर्बो रुपैयाँ निक्षेप उठाएका छौ, त्यसैले तत्काल कर्जाको ब्याज दर घटाउन सक्ने अवस्था छैन” उनले भने । मेगाले पनि मुद्धति निक्षेपको ब्याज दर घटाएर १० प्रतिशतमा झारेको शाहाले बताए ।
यता बैंकले सेयर, गाडी, साना तथा मझौला कर्जा लिन बोलाउन थालेका छन् । सेयर, गाडी कर्जाको ब्याज दर घटाएको बैंकहरुले जानकारी दिएका छन् । सेन्चुरी बैंकले आज बुधबार ९ प्रतिशत ब्याज दिने गरी ९० दिने मुद्धति योजना ल्याएको छ । अन्य बैंकले पनि ब्याजदर घटाउन थालेका छन् ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकसंग थप ऋण लगानी गर्न पुँजी नभएपछि वित्तीय घर्षण बढेको थियो । त्यसबेला बैंकहरुले ठुला निक्षेपकर्तासंग मोलमलाई महंगो ब्याज दरमा मुद्धति निक्षेप उठाएका थिए ।