काठमाडौ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उहाँले जानकारी गराए । विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल आजै नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो ।
बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ ।
मन्त्री बलायरले आज रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको जानकारी दिए ।
“चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ,” आज नेपालका लागि चिनियाँ राजदूत यु हङ्गसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने बताए। तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हङ्गले जानकारी गराए छन्”, उनले भने ।
भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेकाे थियो । यो विषयमा पनि बुधबारको वार्तामा सम्झौता गरिने मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव ध्रुवराज जोशीले गर्नछन्।