काठमाडौं । सेयर बजारमा पाँच कम्पनीले करिब पाँच अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्यूचल फण्ड) निष्काशन गर्न लागेका छन् । हालसम्म पाँच कम्पनीले ४९ करोड इकाई निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् ।
सो मध्ये ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस फण्डले ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको फण्ड जारी गर्न बोर्डमा आवेदन दिएको छ ।
त्यस्तै, सानिमा इक्विटी फण्डले पनि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस इक्विटी फण्डले सानिमा क्यापिटल मार्फत सो मात्राको म्युचल फण्ड जारी गर्ने भएको छ ।
त्यसैगरी, सिटिजन्स म्यूचल फण्ड १ ले एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्ने भएको छ । यस फण्डले सिबिआइएल क्यापिटलबाट १० करोडको इकाई निष्काशन बोर्डमा आवेदन दिइसकेको छ ।
एनआईसी एसिया ग्रोथ फण्डले पनि एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । बोर्डको अनुमति पश्चात यस फण्डले एनआईसी एसिया क्यापिटलबाट १० करोडको इकाई निष्काशन गर्ने छ ।
त्यसैगरी, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ ।
चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्डले मात्र म्यूचल फण्ड निष्काशन गर्ने अनुमति पाएको छ । यस फण्डले गत भदौ १४ गते नै १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न अनुमति पाएको हो ।
साथै, यस सिद्धार्थ इक्विटी फण्डले आगामी असोज २५ गतेदेखि असोज २९ गतेसम्म सो मात्राको म्यूचल फण्डको बिक्री खुला गर्ने भएको छ । इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा गई आश्वा मार्फत आवेदन दिन सक्नेछन् ।