काठमाडौं । राजधानीमा ठुला बस सञ्चालनका लागि सरकार र निजी कम्पनीबीच सम्झौता भएको छ । यातायात विभाग र बस सञ्चालक दीगो सार्वजनिक यातायात सेवाबीच आइतबार राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस सञ्चालनका लागि सम्झौता भएको हो ।
सम्झौतापछि राजधानीमा ठूला बस सञ्चालनमा आई यात्रुलाई अझ सहज हुने अनुमान गरिएको छ । सरकारले साना गाडीलाई राजधानीमा विस्थापन गर्ने नीतिअनुसार ठुला गाडी सञ्चालनमा ल्याउन लागेको हो ।
काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५० यात्रु क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेर सञ्चालन गर्ने छ ।
१० करोडको लागतमा १७ देखि २५ वटासम्म अपांग मैत्री बस सञ्चालन हुने छ । त्यसका लागि दिगो सार्वजनिक यातायात प्राली कम्पनीको ५ प्रतिशत, एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिनेछ । त्यसमा शहरी विकास कोषले ८० प्रतिशत ऋण दिनेछ । दिगो सार्वजनिक यातायात प्रालीले भने आफ्नो भागमा परेको ५० लाख रुपैंयाँ जम्मा गरिसकेको कम्पनीका सचिव लालप्रसाद गुरागाइँले बताए ।
३५ वटा टेम्पो र २६ वटा माइक्रोहरुका तर्फबाट ५० लाख रुपैंयाँ जम्मा गरिसकेको दिगोका सचिव गुरागाईँले जानकारी दिए । कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि सहुलियत ऋण दिन लागेको हो । ऋण सम्झौता भएको ४ महिना भित्रै बस सञ्चालनमा ल्याइसक्ने योजनासहित काम अघि बढेको पनि उनले जानकारी दिए ।
बस गुड्ने रुट
यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ ।
यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो स्थानान्तरण गरेर उपत्यका भित्रै अर्काे रुटमा पठाईनेछ ।
एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठूला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको योजना प्रमुख खड्गलाल श्रेष्ठले बताए ।
६४ रुटको पहिचान
योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ ।
६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो ।
त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको छ ।