काठमाडौं । बिस्कुट, चकलेट, मिठाई तथा मिठाईजन्य गुलियो खाद्यवस्तु उत्पादन गर्ने उद्योगीले सरकारसँग चिनीको आयातमा भन्सार सहुलियतको माग गरेका छन् ।

उत्पादन लागत बढेको भन्दै बिस्कुट, चकलेट मिठाई लगायतका विभिन्न निजी क्षेत्रका चिनीजन्य खाद्यवस्तु उत्पादकले चिनीमा भन्सार सहुलियत मागेका हुन् । उद्योगीले आइतबार आपूर्ति मन्त्री शिवकुमार मण्डललाई भेटी चिनीजन्य उत्पादनको लागतबढेर प्रतिस्पर्दा क्षमता गुमेको भन्दै भन्सार सहुलियत माग गरेका हुन् ।
औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा भारतबाट आयात हुने चिनीमा १५ प्रतिशत भन्सार शुल्कका कारण उत्पादनको मूल्य प्रभावित भएको र बिदेशी ब्राण्डकका उत्पादनसँग प्रतिस्पर्दा गर्न नसकेको एसियन बिस्कुट एण्ड कन्फेसनरीका सञ्चालक महेश जाजुले बताए । उनले भने, ‘कच्चा पदार्थका रुपमा प्रयोग हुने चिनीमा १५ प्रतिशत कर लगाइएकाले भारतमा ४० रुपैयाँ प्रति किलो पर्ने चिनीको नेपालमा ६० रुपैयाँ पर्न आउँछ । किलोमा नै २० रुपैयाँको अन्तर हुँदा निजी उद्योगी मर्कामा परेका छन् ।’
आत्मनिर्भर र विदेशी उत्पादनसँग प्रतिश्पर्दा गर्नका लागि पनि सरकारले सहुलियत दिनुपर्ने आवश्यकता रहेको जाजुले बताए । उनले भने, ‘आत्मनिर्भर तर्फ उन्मुख उद्योगलाई राज्यले प्रबद्र्धन गर्न राज्यले सहुलियत अथावा छुटको व्यवस्था गर्नुपर्छ ।’
सरकारले साल्ट ट्रेडिङ लिमिटेडलाई बजार नियन्त्रण गर्न चिनी आयातमा १ प्रतिशत भन्सार सहुलियत दिएको छ । साल्ट ट्रेडिङलाई जस्तै अन्य उद्योगीलाई पनि सहुलियत प्रदान गर्नुपर्ने उनले बताए । उनले भने, ‘अहिले चिनीमा साल्ट ट्रेडिङको एकाधिकार छ, यसलाई तोड्नु जरुरी छ ।’
नेपालमा स्वदेशी उत्पादनले नधान्ने भएपछि चिनीको आयात हुनेगरेको छ । नीजि व्यापारीले दसैं तिहार जस्तो अत्याधिक माग हुने समयमा चिनीको कृत्रिम अभाव सिर्जना गर्ने भएकाले चिनीजन्य उद्योग र उपभोक्ता मारमा पर्ने गरेको जाजुले बताए । उनले भने, ‘हामी त अझ बढी मारमा छौं । साल्ट ट्रेडिङले पनि खुद्रामा मात्र चिनीको कारोबार गर्छ । भारतबाट सोझै आयात गर्नुपर्ने भएकाले हामीलाई महंगोमा चिनी किन्नुपर्ने बाध्यता छ ।’
आपूर्ति मन्त्री शिवकुमार मण्डलले उद्योगीको माग प्रति मन्त्रालय सकारात्मक रहेको बताए । उनले यो विषयलाई उद्योग मन्त्रालय तथा भन्सार विभागसँग संयुक्त बैठक बसेर समाधान गरिने जानकारी दिए । उनले भने, ‘उहाँहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थमा सहुलियत माग्नु भएको छ । हामी यो विषयमा सकारात्मक नै छौं । स्वदेशी उत्पादनलाई प्रतिश्पर्दा गराउन हामी सक्दो सहयोग गर्नेछौं ।’
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सम्पूर्ण व्यवसायी र उद्योगीलाई चिनीमा खुला प्रतिश्पर्दा गराउन नहुने बताए । उनले भने, ‘साल्टलाई जस्तै चिनीमा आधारित उद्योगहरुलाई औद्योगिक प्रयोजनका लागि निश्चित कोटामा चिनी ल्याउने व्यवस्था बरु जायज हुन्छ । नत्र मनपरी छुटमा ल्याउँन दिनुहुँदैन । खुला बजारको मौका छोपेर कालोबजारी हुने सम्भावना प्रबल हुन्छ ।’