काठमाडौं । आन्तरिक राजश्व विभागले कर कानून पालना नगर्ने ३०२ करतालाई कार्वाही गरेको छ । अनुगमन सुरु गरेको ४ दिनमा २३४ टोलीबाट १ हजार ९५१ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा कानुनी कारवाही गरेको छ ।
अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको विभागले जनाएको छ ।
अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेको थियो ।
अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीदबिक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।
विभागले बजारमा विलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । विभागले आफू अन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन सुरु गरेको हो ।
प्रत्येक कार्यालयबाट ३/३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्ष जस्तै यस वर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइएको विभागले जानकारी दिएको छ ।
भदौ २७ गते मात्र ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदातालाई कारोवार स्थलमै तत्काल कानूनी कारवाही गरेको थियो । भदौ २८ गते ५३ वटा टोलीले ५६६ वटा करदाताको कारोवार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा ११० वटा करदाताले कर कानून परिपालना नगरेपछि जरिवाना गरेको विभागले जनाएको छ ।
भदौ २९ गते ५२ वटा अनुगमन टोलीले ५५३ वटा करदाताको अनुगमन गरेकोमा ८३ वटा करदातालाई प्रचलित जरीवाना गरेको छ । त्यस्तै भदौ ३० गते ४५ वटा टोलीले ४४७ वटा करदाताको अनुगमन गरेर ६९ करदातालाई कारवाही गरेको थियो ।