काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको २ महिनामा सरकारले १ खर्ब २४ अर्ब २७ करोड रुपैयाँको चेक काटेको छ । यो रकम कुल बजेटको ९.७ प्रतिशत हो ।

चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ १४.८३ प्रतिशत अर्थात १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । हो । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको छ ।
पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । आव सुरु भएको २ महिनामा १.२७ प्रतिशत मात्र खर्च भएको छ । भदौसम्म ४ अर्ब २७ करोड १६ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ ।
चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत शिर्षकमा बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ ८२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । चालु आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने छ । आउदो कार्तिकसम्म कुल विनियोजन रकम मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च हुने गरी बजेटको चौमासिक लक्ष्य विभाजन गरिएको छ ।
यो लक्ष्य पुरा गर्न आउँदो कात्तिकसम्म २ अर्ब ५२ अर्ब २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख र तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने व्यवस्था छ ।
पहिलो चौमासका लागि साउन १ गते, दोस्रो चौमासमा मंसिर १ र तेस्रो चौमासमा चैत १ गते कोष तथा लेखा नियन्त्रकको कार्यलयले सिधै बजेट निकासा गर्ने व्यवस्था गरिएको छ ।
९० अर्ब राजश्व संकलन
दुई महिनामा सरकारले ९० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो कुल लक्ष्यको १२.३ प्रतिशत हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य राखेको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।