काठमाडौं । कर्मचारी सञ्चय कोषले एक वर्षमा ३० अर्बले लगानीयोग्य रकम बढाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई खर्ब २३ अर्ब ९४ करोड रहेको रकम गत आवमा दुई खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ परिचालन गरेको कोषले जानकारी दिएको छ । कोषले निजामति, जंगी र प्रहरी सेवाका साथै शिषक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका ५ लाख ५० हजार भन्दा बढी कर्मचारीको सञ्चित रकम व्यवस्थापन गरेको छ ।

५३ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन अर्थ राज्य मन्त्री उदयशमशेर जवराले कोषले चालु आवको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम ब्याजको अंशबाट व्यहोरिने गरी स्वास्थ्य सुरक्षा योजना खाका तयार गरी लागु गरिने बताए । सो अवसरमा आर्थिक विवरण सार्वजनिक गर्दै कोषका कामु प्रशासक दीपक रौनियारले सञ्चयकर्ताको सेयर लगानी सुनिश्चित हुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोषले नाफा मुलक परियोजनामा सेयर लगानी विस्तार गर्ने नीति लिएको उनले बताए । कोषले आर्थिक वर्ष २०७२/७३ को बचतबाट सञ्चयकर्तालाई १२७.९२ करोड मूनाफा प्रदान गर्ने उनले जानकारी दिए ।
जगेडा कोषमा ६ अर्ब २८ करोड रकम रहेको छ भने अन्य दायित्व तथा व्यवस्था दुई अर्ब ४८ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ । कुल लगानी दुई खर्ब ४३ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा अनुमानित बचत एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
हाल कोषले सञ्चित कोषमा आठ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३को सुरुको सञ्चय कोष मौज्दातको आधारमा सञ्चयकर्तालाई ०.६५ प्रतिशत मूनाफा छुट्टै खातामा लेखांकन गरी उनीहरुको ४० प्रतिशत सेयर लगानी सुनिश्चित हुने गरी कर्मचारी सञ्चय कोष, विद्युत प्रधिकरण, विद्युत उत्पादन कम्पनीद्वारा प्रवद्र्धित बेतन कर्णाली हाईड्रोपावर कम्पनी स्थापना गरेको उनले जानकारी दिए ।
कोषले माथिल्लो तामाकोशी जलविद्युत परियोजनाका लागि हालसम्म पूँजीकृत सहित १२ अर्ब ६७ करोड ७८ लाख कर्जा प्रवाह गरिसेकेको जानकारी दिएको छ । ४५६ मेगावाटको यो परियोजनाका लागि कोषले १० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
आव २०७३÷७४ मा कोषले १२५ वटा संस्थाका २५ हजार भन्दा बढी कर्मचारीलाई कोषमा आबद्ध गराएको जानकारी दिएको छ । अघिल्लो आवमा कोषले निजी क्षेत्रका कर्मचारीलाई कोषमा आबद्ध गराई संगठित क्षेत्रमा कोषको दायरा विस्तार गर्ने नीति ल्याएको थियो ।
वार्षिकोत्सवमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक र २०७४ को एसईई परीक्षामा सफल हुने कर्मचारीका छोराछोरीलाई शैक्षिक पुरस्कारबाट सम्मानित गरिएको थियो ।
एप्स सार्वजनिक
कोषले सञ्चयकर्ताको सुविधाका लागि ’नयाँ एप्स’ सार्वजनिक गरेको छ । कार्यक्रममा मूख्य सचिव राजेकिशोर क्षेत्रीले सो एप्सको उद्घाटन गरेका छन् । एप्सबाट सञ्चयकर्ताले कर्जाकारे जानकारी लिन मिल्ने र युजर प्रोफाइल पनि बदल्न मिल्ने उनले जानकारी दिए ।