३० कम्पनीमा आवेदन गर्दा जागिर नपाएको ज्याक मा ३८ खर्बको मालिक, कसरी मिल्छ सफलता ?

<p>काठमाडौं । “सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।” यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । फोब्सका अनुसार उनीसँग ३८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । [&hellip;]</p>

काठमाडौं । “सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।”

यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । फोब्सका अनुसार उनीसँग ३८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । नेपाली रुपैयाँमा उनको सम्पत्तिको मूल्य ३८ खर्ब ८३ अर्ब रुपैयाँ हुन्छ, जुन नेपालको जीडीपी भन्दा १२ खर्ब रुपैयाँ बढी हो ।

सन् १९६४ मा चीनको हन्जाउ गाउँको एउटा गरिब परिवारमा जन्मिएका ज्याक मा आज विश्वकै सफल व्यवसायीहरु मध्येका एक मानिन्छन् । उनले यति ठूलो सफलता सजिलै हासिल गरेका भने होइनन् । सफलता हात पार्नु भन्दा अगाडि उनले थुप्रै असफलताका अनुभवहरु सँगालेका थिए ।

ज्याक मा सानैदेखि पढाईमा त्यति ध्यान दिँदैनथे । यही कारणले गर्दा उनी ४ कक्षामा २ पटक र ८ कक्षामा ३ पटक फेल भएका थिए । त्यसैगरी उनले ग्य्राजुएशनको इन्ट्रान्स एक्जाममा ५ पल्टसम्म असफलता हात पारेका थिए ।

युवा अवस्थाको हुँदा उनले ३० अलग अलग ठाउँमा जागिरका लागि निवेदन दिएका थिए । तर उनलाई जागिर दिनका लागि कुनै पनि कम्पनी तयार भएनन् ।

बहुराष्ट्रिय विजाहट केएफसीले एप्लाई गरेका २४ जनामध्ये २३ जनालाई जागिर दिए पनि ज्याक मालाई भने जागिर दिन अस्विकार गर्यो ।
त्यसपछि ज्याक माले पुलिसमा भर्ती हुने प्रयास गरे तर त्यहाँ पनि उनलाई अयोग्य ठहर गरियो र भर्ती गरिएन ।

त्यसैगरी हार्वड युनिवर्सिटीमा प्रवेश पाउन उनले १० पटकसम्म प्रयास गरेको भएता पनि ती प्रयासहरु त्यसै खेर गएका थिए ।

एक पछि अर्को गर्दै धेरै असफलताहरु हात लागेता पनि उनले कहिल्यै हरेश खाएनन् बरु आप्mनो प्रयासलाई जारी राखे । यसै शिलशिलामा सन् १९९९ मा आप्mना १७ जना साथिहरुसँग मिलेर अलिबाबा डट कम नामको ईकमर्स वेबसाइटको शुरुवात गरे । आज यो वेबसाइट संसारको सबैभन्दा धेरै कमाउने ईकमर्स वेबसाइट बन्न सफल भएको छ ।

फोब्र्सका अनुसार अलिबाबा डट कमले २०१६ अप्रिलदेखि २०१७ मार्चसम्ममा १२ महिनामा २३ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले बढी हो । अलिबाबा सन् २०१४ मा न्यूयोर्कमा जारी गरेको साधारण सेयर (आईपीओ) अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन हो ।

अलिबाबा डट कमलाई सफलताको शिखरमा पुर्याएर ज्याक मा आज चीनमा मात्र होइन, विश्वमा नै चर्चित उद्यमी बनेका छन् ।
असफलताबाट कहिल्यै हरेश नखाने स्वभावका यिनै ज्याक माले विभिन्न कार्यक्रम तथा अन्तर्वार्ताहरुमा व्यक्त गरेका केही विचारहरु यस्ता छन् जो लाखौं करोडौं युवाहरुको भविष्य निर्माणका लागि कोशेढुंगा सावित भएका छन् ।

ज्याक माका प्रेरक विचारहरु

१. सबैभन्दा ठूलो असफलता भनेकै हार मान्नु हो । यदी तपाईं हार मान्नुहुन्न भने तपाईंको सामु अर्को एउटा मौका अवश्य आउनेछ ।

२. यदी तपाईंलाई आफूमाथि भरोसा छ र आफ्नो कामप्रति पूर्ण लगाव छ भने कुनै पनि समस्याले तपाईंको बाटो छेक्न सक्दैन ।

३. एकदमै जरुरी कुरा जुन तपाईंमा हुनैपर्छ, त्यो हो–धैर्य ।

४. कसैको सफलताबाट सिक्नुभन्दा राम्रो हो उसको गल्तीबाट सिक्नु । किनभने सफल हुने विभिन्न कारणहरु हुन सक्दछन् तर असफल हुने कारण भने समान हुन्छ ।

५. आफ्नो कम्पनीमा त्यस्ता व्यक्तिलाई मात्र जागिर दिनुहोस् जो तपाईं भन्दा बढी सक्षम छन् । किनभने त्यस्ता व्यक्तिले मात्र तपाईंको सपना पूरा गर्नमा तपाईंलाई मद्दत गर्न सक्छन् ।

६. आफ्नो प्रतिद्धन्दीबाट धेरै कुरा सिक्ने गर्नुहोस् तर नक्कल कहिल्यै नगर्नुहोस् । यदी नक्कल गर्नुहुन्छ भने तपाईंको पतन निश्चित छ ।

७. म आफैंलाई खुशी राख्ने प्रयास गर्छु, किनभने मलाई थाहा छ, म खुशी भइनँ भने मेरा स्टाफहरु खुशी हुँदैनन, मेरा शेयरहोल्डरहरु खुशी हुँदैनन् अनि मेरा ग्राहकहरु खुशी हुँदैनन् ।

८. पैसा कमाउनका लागि मात्र व्यापार नगर्नुहोस् । बरु समाजलाई सकारात्मक तरिकाबाट कसरी प्रभावित पार्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत गर्नुहोस् । यस्तो गर्न सक्नुभयो भने पैसा निरन्तर रुपमै तपाईंको नजिक आइरहनेछ ।

Share News