काठमाडौं । लगातार १२ दिनदेखि घट्दै आएको सेयर बजारमा बिहीबार करेक्सन भएको छ । बिहीबार बजार ३७.११ अंक बढेर १ हजार ५३० अंकमा पुगेको छ । बुधबार ९ अंक घटेर १ हजार ५ सय तल पुगेको थियो ।
कारोबार रकम कम भएपनि बजार भने साढे २ प्रतिशतले बढेको छ । १२ दिनपछि बजार करेक्सन भएको नेपाल स्टक ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिजापति बताउछन् । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको उनको भनाई छ ।
“आजको बजार वृद्धिले लगानीकर्तामा सकरात्मक मनोबैज्ञानिक प्रभाव पारेको छ” उनले भने “आगामी दिनमा यसले निरन्तरता पाउछकी पाउदैन त्यो हेर्न बाँकी छ ।”
आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने बताउदै उनले भने “अर्को हप्ता कस्तो कारोबार हुन्छ हेर्नुपर्छ । यद्यपी बढ्ने संकेत देखिएको छ ।”
बिहीबार बैकिङ, होटल, बीमा, जलविद्युत, विकास बैंक, वित्त र उत्पादनमुलक सबै क्षेत्रको बजार बढेको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ता भएका छन् ।
राष्ट्रिय बीमा लगानीकर्ताले एकै दिन १ हजार ४७० रुपैयाँ कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर १६ हजार १८० रुपैयाँ पुगेको छ ।
यस्तै गुमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकताले ३५८ रुपैयाँ गुमाएका छन् । नेसनलले बिहीबार ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेसनलको १० प्रतिशत घटेको छ ।
बिहीबार ६३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार ९८९ मा कुल ३ करोड ८ लाख २५ हजार रुपैयाँ किनबेच भएको छ ।