काठमाडौं । आउदो हिउँदमा पनि विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको छ । गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
बढी बिजुलीको माग हुने साँझको २ घण्टा पनि आपुर्ति व्यवस्थापन हुने उनले स्पष्टपारे । लोडसेडिङ फेरी हुदै छ भन्ने आशंकालाई चिर्दे घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन् ।
आफनो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजना सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा साँझ उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्टपारे ।
उनले प्रसारण प्रणाली र सवस्टेश ओभरलोड भइरहेकाले क्षमता बढाउने काम भइरहेको उनले जानकारी दिए । “हामीसंग पर्याप्त भएर हैन” उनले भने “संकटको बेला माग व्यवस्थापन गरेका छौ र आउदा दिनमा पनि हुने छ । कुनै आयोजनामा समस्या आएर बन्द भए हामीसंग रिजर्भ क्षमता छैन ।”
२ करोड थान एलईडी चिम वितरण र सोलारबाट बिजुली उत्पादन गर्ने योजना कार्यान्वयनमा आएको भए माग व्यवस्थापन गर्न सहज हुने उनको भनाई थियो । एलईडीले साँझ र सोलारले दिउँसोको माग व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ ।
लोडसेडिङ नहुने आधार के हुन ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिमा ३० मेगावाटको चमेलिया आयोजनाको काम २ महिनामा सम्पन्न भई विद्युत उत्पादन सुरु गर्ने जानकारी दिए । चमेलिया अर्धजलासययुक्त आयोजना भएकाले सुदुरपश्चिममा साँझको माग व्यवस्थापन गर्ने उनको भनाई थियो ।
यस्तै पुर्वमा कुसाह–कटौया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट थप १ सय मेगावाट बिजुली आयात हुन सक्ने गरी पुर्वाधार तयार भएको उनले जानकारी दिए ।
यस्तै कुलेखानी आयोजना हाल सञ्चालनमा नरहेको र पानी भर्ने काम भात्र भइहरेको छ । हालसम्म जलसतह १ हजार ५१९ मिटर पुगेको छ । यो गत वर्षको भन्दा १ मिटर बढी हो । कुलेखानी आसपास क्षेत्रमा पर्याप्त वर्षा नभएकाले भरिने संभावना कम रहेको उनको भनाई छ ।
यस्तै १४४ मेगावाटको कालिगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, चमेलिया, चिलिमेलगायत विद्युत प्राधिकरणका आयोजनालाई साँझमा पनि पुर्णक्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गर्ने उनको भनाई छ ।
यस्तै सहरी क्षेत्रमा लोडसेडिङ हुन नदिन हालको वितरण प्रणालीमा सुधार गरी क्षमता बढाउने काम भइरहेको घिसिङले बताए । अझै पनि ३ सय मेगावाट बिजुली अपुग भए पनि माग व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।
घिसिङका अनुसार १ हजार मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको छ भने ३ सय मेगावाट साँझ ३ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेर व्यवस्थापन भइरहेको छ । आउदो हिउँदमा पनि समस्या आएमा साँझमा उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने जानकारी दिए ।
यो वर्ष बिजुली चुहावट ३ प्रतिशत घटाएर २० प्रतिशतमा झार्ने योजना उनले सार्वजनिक गरे । गत वर्ष पनि ३ प्रतिशत चुहावट घटाउन सफल भएको उनको भनाई थियो ।