
नर बहादुर थापा, कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक
काठमाडौं । साउन अन्तिम साता तराई क्षेत्रमा आएको बाढी र डुबानले ठुलो मात्रामा सम्पति क्षति भएको देखिन्छ । बाटो भत्किएको छ, नागरिकको घर भत्किएको छ । गाईवस्तु मरेका छन् । धानबाली, माछा पोखरीहरु धुप्रै नष्ट भएका छन् । यतिबेला त्यो डुबानले मुलुकको आर्थिक वृद्धिदरमा प्रभाव पर्छ की पर्दैन भन्नेबारे चर्चा चलिरहेको छ । सरकाले आर्थिक बर्ष २०७४/७५ का लागि ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वृद्धिदरमा कृषि, उद्योग, पर्यटन, पुर्वाधार लगायतका धेरै पक्षहरुको योगदान रहन्छ ।
अहिले बिशेष गरि डुबानको प्रभाव सम्बन्धी दुई वटा विचारहरु देखिएका छन् । पहिलो विचारः तराईमा डुबान एक/दुई दिन मात्रै रह्यो । त्यसले गाइ बस्तु, मान्छेको मल, पाँगो माटो सबैलाई बराबर मात्रामा वितरण गर्यो । जुन मान्छेले गर्न सक्दैन्थ्यो । अमलिलो माटोमा मलिलो माटो मिसियो । हिमालमा जुन बर्ष हिउँ पर्छ, त्यहि बर्ष धेरै गहुँ फल्छ । तराईमा पनि जुन बर्ष डुबान हुन्छ त्यहि बर्ष धेरै धान फल्छ । क्षणिक डुबानले धान उत्पादन बढाउँछ भन्ने पहिले पनि पुष्ठि भैसकेको कुरा हो ।
तर जुन जुन क्षेत्रमा बाढीले बलौटे माटो ल्यायो र धान सोत्तर बनायो त्यहाँ नराम्रो असर गर्छ । बाढीले केहि धान डुबाएको केहिमा बलौटे माटोले छोपिदएको हुनाले यो बर्ष तराई मधेशमा बर्षे बालीको उत्पादनमा कस्तो प्रभाव पर्छ भन्ने सन्दर्भमा सबैको चासो बढेको देखिन्छ । यी कुरा भने बाढीले खेति योग्य जमिन कति बगायो र कति पुर्यो भन्नेमा निर्भर गर्छ ।
मलाई लाग्छ, बाढीले १० देखि १५ प्रतिशत धान बगाउने र पुर्ने काम गरेको छ भने बाँकी ८५ प्रतिशतमा क्षणिक डुबान मात्रै भएको छ । यसले मलहरुको बराबर वितरण र पाँगो माटो राखिदिएकाले धान उत्पादनमा राम्रो नै गर्छ । डुबान लगत्तै सरकारले छिटो फल्ने धान छर्ने भनेर काम गरिसकेको छ । त्यसो त धान आफैं अधिक पानीमा फल्ने अन्न बाली हो । त्यसमा पनि तराई मधेशमा रोपिने धानहरुमा डुबानमा पनि फाल्न सक्ने क्षमता अधिक हुन्छ नै । त्यसकारण यसपाली पनि तराई मधेशमा धानको उत्पादन राम्रै हुन्छ भन्ने मेरो निष्कर्ष हो । विस्तृत अध्ययन त भैसकेको छैन् तर पनि धान उत्पादन घट्ने सम्भावना छैन् । बरु ३।४ प्रतिशत कृषि उत्पादन बढ्न सक्छ ।
साउन अन्तिम साताको डुबानले अब तराईमा हिउँदे बाली पनि झनै राम्रो हुनेछ । सिधा अर्थमा भन्ने हो भने तराई डुबानले धानको उत्पादन घट्दैन र हिउँदे बाली पनि झनै फस्टाउँछ । अब केहि हदसम्म उद्योग, घर, माछा पोखरी, गाई बस्तुको क्षति भएको छ । यसले उत्पादनमा असर गर्यो भने आर्थिक वृद्धिदरमा असर गर्ने हो । उद्योगमा क्षति पुगेर उत्पादनमा कमि आयो भने त्यसले प्रभाव पार्छ नै ।
तर कहिले काँही भने डुबानका कारण धानको उत्पादन भने बढाउँछ । यसपाली पनि त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ । बाढीले नागरिकको घर बगायो, पुल भत्कियो, बाटो बगायो । नागरिकले दुःख पाए तर डुबानकै कारण धानको उत्पादन घट्ने अवस्था चाँही आउँदैन् भन्नेमा म चाँही निश्चिन्त छु ।
अब डुबानले आर्थिक वृद्धिदरमा कस्तो असर गर्छ भन्नेबारे कुरा गरौं । डुबानले अधिक क्षति पुगेको भनेको बर्षे बालीमा हो र तराईको बर्षे बाली भनेको धान नै हो । समग्र कृषि क्षेत्रमा धानको योगदान २१ प्रतिशत छ । अनि समग्र अर्थतन्त्रमा भने धानको योगदान ७ प्रतिशत देखिन्छ । अधिकतम १५ प्रतिशत धान बाली डुबानले नष्ट भएको जस्तो देखिन्छ तर जहाँ क्षण्कि डुबान मात्रै भएको छ, त्यहाँ धानको उत्पादन बढ्छ । त्यसकारण डुबानका कारण धानको उत्पादन घटेर आर्थिक वृद्धिदर घट्दैन् ।
समग्र आर्थिक वृद्धिदरका लागि धेरै कुराले भूमिका खेल्छन तर तराई डुबान र धान उत्पादनका कारण आर्थिक वृद्धिदर घट्ने अवस्था छैन् । (नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)