काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो सञ्चालन गर्ने भएको छ । यो मेला भदौ ३० गतेदेखि असोज ३ गते सम्म रानधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ ।
नेपालमा उत्पादित धागोबाट तयार गरिएको सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ-सुटिङ, निटिङ्ग आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने तथा स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागोहरुको जानकारी दिने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको संघले जानकारी गराएको छ । साथै, आधुनिक प्रविधीका मेशीनरीहरु समेत प्रदर्शनिमा राखिएको हुंदा उद्योगिहरुलाई नयाँ प्रविधी तथा मेशिनरीहरुको जानकारीको थप अवसर प्राप्त हुनेछ ।
नेपाल धागो उत्पादक संघको स्थापना विसं २०५३ सालमा भएको र हाल संचालनमा रहेका उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ्ग प्रमुख रहेका छन् । उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत देखि भारतमा निर्यात गर्दै आएकोमा, ६÷७ वर्षदेखि तेश्रो मुलुकमा समेत निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा धागो संघले जानकारी गराएको छ ।
स्वदेशमा कपडा उद्योगको विकास तीन दशक अगाडि देखि भएता पनि यसको विकासको लागि दुइ दशक अगाडिबाट धागो उद्योगको स्थापना तथा विकास भएको हो । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ-सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जनाको लागि रोजगारीको अवसर सृजना गरीरहेका छन् भने ३० प्रतिशत महिलाको संख्या रहेको छ ।