काठमाडौं । सरकारले २ वटा चिनी उद्योगबाट ६ मेगावाट बिजुली खरिद गर्ने भएको छ । एभरेष्ट जनरल सुगर मिल्स लिमिटेडबाट ३ र इन्दुशंकर चिनी उद्योग लिमिटेडबाट ३ मेगावाट बिजुली खरिद गर्ने भएको हो ।
एभरेष्ट मोहत्तरीको गौशला र इन्दुशंकर सर्लाहीको हरिभवनमा छन् । बिजुली खरिदबिक्री (पीपीए) को विषयमा विद्युत विकास विभाग र उद्योगीबीच सोमबार करार सम्झौतामा हस्ताक्षर भएको छ ।
उद्योगले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्नेछन् ।
मुलुकमा ऊर्जा संकट समधान गर्नका लागि सरकारले चिनी उद्योगबाट पनि बिजुली किन्ने योजना बनाएको हो ।
यसअघि ल्याइएको ऊर्जा विकास कार्ययोजनामा लोडसेडिङ अन्त्यका लागि चिनी उद्योगबाट बिजुली किन्ने उल्लेख छ । सोही योजनाअनुसार विभागले खरिद गर्न लागेको हो ।
पटकपटक उद्योगबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपनि विद्युत विकास विभागले बिजुली बिक्रीका उद्योगसँग पुनः सहभागी हुन आह्वान गरेको थियो । मुलकभर एक दर्जन उद्योग सञ्चालनमा रहे पनि आधा दर्जन उद्योगले मात्र प्रस्ताव पेश गरेका थिए ।
पहिलो चरणमा दुई उद्योगसंग प्रारम्भीक सम्झौता गरेको हो । उद्योगबाट खेर जाने खोस्टाबाट बिजुली उत्पादनका लागि आवश्यक पुर्वाधार तयार गर्न एक वर्षको समय दिने भएको छ ।
“सकेसम्म आउदो हिउँदमा उत्पादन हुने गरी काम थाल्न भनेका छौ” विभागका महानिर्देशक नवीनराज सिंहले भने । आउदो हिउँदमा ल्याउने गरी काम अघि बढाउन विभागले उद्योगीलाई भनेको छ ।
उद्योग सञ्चालन भएपछि बिजुली उत्पादन हुने उनको भनाई । खेर गइरहेको बगास रहुन्जेलसम्म उद्योगबाट बिजुली उत्पादन हुने उनको भनाई छ । ६ महिना बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।
उनका अनुसार वैशाखमा प्रस्ताव आह्वान गर्दा एभरेष्ट सुगर मिल, बागमती खाँडसारी मिल, अन्नपूर्ण सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग लिमिटेडलगायतले पेश गरेका छन् । उद्योगहरु संघमार्फत आएकाले समस्या भएको सिंहको भनाइ छ ।
एभरेष्टले १२ किलोमिटर टाढा सोही जिल्लाका औरही सबस्टेसन र इन्दु शंकरले १५ किलोमिटर टाढा रहेको हरिपुर सबस्टेसनमा बिजुली जोड्ने छन् ।
यस्तै अन्नणुर्ण जनरल एन्ड सुगर लिमिटेडसंग पनि साढे ३ मेगावाट बिजुली खरिदको प्रक्रिया अघि बढेको सिंहले जानकारी दिए । अन्नपुर्णसंग पनि छिट्टै करार सम्झौता हुने भएको छ ।