रत्ननगर (चितवन) । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले यसवर्ष गर्मी सहने खालको मकैको नयाँ जात विकास गरेको छ । करिब चार वर्षको अनुसन्धानपछि ‘रामपुर हाइब्रिड–८’ नामक नयाँ वर्णशंकर मकैको जात विकास गरेको हो ।
परीक्षण पूरा भएपछि राष्ट्रिय बीउबीजन उन्मोचन (सिफारिस) उपसमितिमा पेश गरिएको र उक्त समितिले प्रमाणित गरेको मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिए।
उक्त मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गरिने जनाइएको छ । अहिले निकालिएको जात गर्मी सहनसक्ने र उत्पादन बढी दिने भएकाले गर्मी ठाउँका लागि उपयुक्त हुने कुँवरको भनाइ छ ।
मकैबाली अनुसन्धान कार्यक्रमले हाल चितवनको रामपुरसँगै बाराको परवानीपुर, सुनसरीको तरहरालगायत क्षेत्रमा मकैको अनुसन्धान गर्दै आइरहेको छ ।
यसअघि रामपुरले विकास गरेको रामपुर हाइब्रिड २, ४ र ६, गौरव तथा खुमल २ लगायतजातका मकैका बीउ किसानका लागि सिफारिस भइसकेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अहिले विभिन्न मौसम अनुकूल हुने मकैका जातको समेत परीक्षण गरिरहेको कार्यक्रमका प्रमुख डा केशवबाबु कोइरालाले जानकारी दिए ।
उनले बीउ निजी कम्पनीलाई दिएर समेत उत्पादन बढाउने कामको थालनी भएको जानकारी दिए। सरकारबाट हाईब्रिड मकै उत्पादनका लागि न्युन बजेट आउने गरेकाले मकैको अनुसन्धान तथा नयाँ जात उत्पादनमा असर परिरहेको जनाइएको छ ।
सरकारी नीति राम्रो हुने हो भने बहुर्राष्ट्रिय कम्पनीसँगै प्रतिस्पर्धा गर्नसक्ने अवस्था आउने सम्बन्धीत विज्ञहरुले बताएका छन् । रासस