काठमाडौं । बढी मुनाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई आपूर्ति व्यवस्थापन विभागले शुक्रबार बयान लिन थालेको छ ।

विभागले सिलबन्दीमा परेका दरबारमार्गका व्यवसायीविरुद्ध प्रमाण जुटाउन थालेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि विभागले आवश्यक प्रमाण जुटाइरहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
विभाग नेतृत्वको निरिक्षण टोलीले अनुगमनमा असिमित मुनाफा लिएर सामान बिक्री वितरण गरिरहेको अवस्थामा सिलबन्दी गरेको थियो । टोली तीन दिनभित्र आवश्यक कागजात सहित पेश गर्नका लागि दिएको निर्देशनका आधारमा दरबारमार्गका नौ वटा ब्राण्डेड शपका सञ्चालकहरुसँग बयान थालिएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए । उनले भने, ‘हामीले व्यवसायीसँग बयान लिइरहेका छौं । कतिपय व्यवसायी आइपुगेका छन् कोही आउन बाकी नै छन् । लागत तथा सञ्चालन खर्च महंगो पर्ने भएकाले महंगोमा बेच्नुपरेको उनिहरुको तर्क छ ।’
सिलबन्दीमा परेका पसलका सञ्चालक विरुद्ध मुद्दा दायरका लागि थप प्रमाण जुटाउन आवश्यक रहेको श्रेष्ठले बताए । यस विषयमा थप अनुसन्धानका लागि अर्थ मन्त्रालयसँग सहायता लिने उनले जानकारी दिए । उनले भने, ‘बिल बीजक, कर तथा भन्सार शुल्कको विषयमा अनुसन्धान गर्नुपर्छ । उनिहरुसँग स्पष्टिकरण लिइ अर्थ मन्त्रालयसँग मिलेर थप अनुसन्धान गर्छौं । त्यसपछि मुद्दा दायरको प्रक्रिया अघि बढाउँछौं ।’
व्यवसायीले बिक्री गरेका सामान ब्राण्डेड भएको दाबी गरेकाले त्यसको गूणस्तरपनि छानबिन गर्नुपर्ने भएको श्रेष्ठले बताए । उनले भने, ‘ब्राण्डेड सामानको गूणस्तरको त्यसको भन्सारले गर्ने मूल्यांकन अनुसार अनुसन्धान जारी रहेको छ ।’
विभागले दरबारमार्गका नौ वटा ब्राण्डेड शपहरुमा सिलबन्दी गरेको थियो । सिलबन्दीको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलनमा छन् । व्यवसायीले क्षतिपूर्तिको माग गर्दै दरबार मार्गका पसलहरु अनिश्चितकालिन बन्द गरेका हुन् ।
दरबारमार्गका व्यवसायीले बेच्ने समानमा कानुनले २० प्रतिशतको मार्जिन नतोकेकाले बढी मूल्यमा सामान बेच्नु गलत नभएको दाबी गरेका छन् । सरकारले सिलबन्दी नतोडेसम्म आन्दोलन फिर्ता नलिने दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपतिले बताए ।
शुक्रवार आपूर्ति विभागले ४० प्रतिशत भन्दा बढी मुनाफा लिएर बिक्री वितरण गरिरहेको अवस्थामा न्यूरोडका दुई ठुला ब्राण्डेड शपमा सिलबन्दी गरेको छ । विभागको नेतृत्वमा गएको टोलीले तिरुपति लिर्वट जुत्ता र फिट वेल सुज प्रालिमा सिलबन्दी गरेको हो ।