काठमाडौं । के तपाई लगानी गर्न खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस, प्राथमिक सेयरमा (आईपीओ) लगानी गर्ने अवसर आउदै छ । यो वर्ष विभिन्न १४ जलविद्युत कम्पनीको मात्रै प्राथमिक सेयर (आईपीओ) र थप निश्कासन (एफपीओ गरी ५ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी सेयर बजारमा आउदै छ ।
१४ जलविद्युत कम्पनीले आईपीओ र एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । निवेदन दिएका सबैको सेयर यो वर्षभित्र निश्कासन हुने बोर्डले जानकारी दिएको छ ।
न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई सेयर दिनुपर्ने भएपछि जलविद्युत कम्पनीले आईपीओ र नयाँ जलविद्युत आयोजना बनाउन थप लगानी जुटाउन एफपीओ निश्कासनमा लागेका हुन् । धितोपत्र निश्कासन नियमावलीमा जलविद्युत क्षेत्रले न्युनतम १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था गरेपछि थप १५ प्रतिशत निश्कासन गर्न लागेका हुन् ।
बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्न लागेको छ । १३ कम्पनीले आईपीओ निश्कासन गर्न लागेका हुन् । बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो ।
यो दरमा एफपीओ निश्कासन अनुमति पाए २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने बीपीसीले जनाएको छ । बीपीसीले यो रकम ३० मेगावाटको न्यादी र साढे ३६ मेगावाटको कावेली ए आयोजनामा लगानी गर्ने छ ।
१११ मेगावाट क्षमताको रसुवागढीले पहिलो चरणमा संचय कोषको संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी कुल १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निश्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । रसुवागढीको सेयर निश्कासनको विषयमा छानविन भइरहेको बोर्डले जनाएको छ ।
यस्तै सान्जेन जलविद्युत कम्पनी लिमिटेडले संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निश्कासन गर्दे छ । सान्जेनले ५७ मेगावाट क्षमताको सान्जेन र तल्लो सान्जेन आयोजना बनाउदै छ ।
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ करोड रुपैयाा बराबरको ११ लाख कित्ता सेयर निश्कासन गर्दे छ । राधि विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ६ लाख ६४ हजार कित्ता आईपीओ निश्कासन गर्ने भएको छ ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले स्थानिबासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानिबासिन्दालाई निश्कासन गर्न लागेको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड स्थानिय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधरण सेयर निश्कासन गर्नलाई बोर्डमा निवेदन दिएको छ ।
जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानिय बासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निश्कासन गर्देछ । शुभम् पावर लिमिटेडले स्थानियबासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख, लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानियबासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता, यनिक हाइडेल लिमिटेडले साढे ५ करोड रुपैयाँको ५५ लाख कित्ता सेयर निश्कासन गर्ने भएका छन् ।
यस्तै सीईडीबी हाइड्रो फन्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार, कालिका पावर लिमिटेडले स्थानिय बासिन्दालाई ६ करोड रुपैयाँको ६ लाख र युनियन हाइड्रोपावर लिमिटेडले पनि स्थानिय बासिनदालाई ६ करोड ३३ लाख ७४ हजार रुपैयाँको ६ लाख ३३ हजार कित्ता सेयर निश्कासन गर्न भएका छन् ।