कार्यकाल नसकिँदै किन छाड्दैछन बैंकका सीईओहरु ? ३ महिनामा ५ सीईओले दिए राजीनामा

<p>काठमाडौं । गत जेठ २४ गते जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार लम्सालले कार्यकाल नसकिँदै राजीनामा दिए । उनको राजीनामालाई बैंक सञ्चालक समितिले तत्कालै स्विकृति पनि गर्यो । लम्सालले व्यक्तिगत कारणले राजीनामा दिएको प्रतिक्रिया दिँदै भनेका थिए–‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ ।’ तर सञ्चालक समितिसंग विवाद [&hellip;]</p>

काठमाडौं । गत जेठ २४ गते जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार लम्सालले कार्यकाल नसकिँदै राजीनामा दिए । उनको राजीनामालाई बैंक सञ्चालक समितिले तत्कालै स्विकृति पनि गर्यो ।

लम्सालले व्यक्तिगत कारणले राजीनामा दिएको प्रतिक्रिया दिँदै भनेका थिए–‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ ।’ तर सञ्चालक समितिसंग विवाद बढेपछि उनले राजीनामा गरेकाे बताइन्छ ।

बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठले पनि असार १९ गते राजीनामा गरे । ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका उनले १ वर्षमै बैंक छाडे । व्यवसाय बढाउन नसकेको आरोप सञ्चालक समितिले लगाएपछि उनले तत्काल राजीनामा गरे ।

भदौैं ११ गते सेञ्चुरी कमर्सियल बैंकका सीईओ अनुजमणि तिमल्सिनाले पनि कार्यकाल बाँकी छँदै राजीनामा गरे । सञ्चालक समितिले वाइपास गरेर डेपुटी सीईओमार्फत काम गराउन थालेपछि २ वर्ष कार्यकाल हुदै उनले राजीनामा गरेका छन् । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन।

उनीपछि कार्यकाल बाँकी रहँदै राजीनामा गर्ने सीईओका सूचिमा ग्लोबल आईएमई बैंकका अनिल ज्ञवाली थपिएका छन् । ज्ञवालीले पनि २ बर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन् । ज्ञवालीले विकासन्युजसंग कुरा गर्दै  अहिले विदामा रहेकाले केही दिनभित्रै राजीनामाको कारण खुलाउने उनले बताए ।

महालक्ष्मी विकास बैंकका सिइओ रमेश भट्टराईले पनि कार्यकाल छँदै सोमबार राजीनामा गरेका छन् । उनी सञ्चालनमा आउन लागेको महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडको सिइओ बन्ने तयारीमा छन् ।

पछिल्लो ३ महिनामा बैंकका ५ जना सीईओले कार्यकाल नसकिँदै राजीनामा गरेपछि बैंकिङ क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ । बैंकका सीईओले धमाधम राजीनामा गर्न थालेपछि बैंकिङ क्षेत्र समस्यामा पर्दे गएको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा सीईअाेको कार्यकाल २ पटक हुने स्पष्ट व्यवस्था छ ।

सबैभन्दा बढी सुशासन, पारदर्शी र आर्कषक मानिएको बैंकिङ क्षेत्रका सीईओले कार्यकाल नसकिँदै धमाधम छोड्न थालेपछि बैंकिङ क्षेत्रमा केही समस्या रहेको अनुमान गर्नेलार्इ बल मिलेकाे छ ।

सिभिल बैंकबाट दुई कार्यकाल पुरा गरेका पूर्वसीईओ किशोर महर्जनले बैंक छाड्नुको मुल कारण सञ्चालक समितिसंग विवाद भएको बताउछन् । विकासन्युजसंग कुरा गर्दे महर्जनले भने “आजको दिनमा बैंकिङ क्षेत्रमा कडा प्रतिस्पर्धा छ र त्यसमाथि हालै लागू भएको वासेल ३ अन्तगत राष्ट्र बैंकले जारी गरेका केही निर्देशनबाट बैंकले व्यवसाय बढाउन नसक्ने र लाभांश पनि दिन नसक्ने अवस्था आएको छ । यसले सीईओको जागिर संकटमा पारेको छ ।”

किशोर महर्जन

“सञ्चालक समितिले निक्षेप र कर्जा लगानी विस्तार गरेर नाफा बढाउन दवाव दिएका हुन्छन्” उनले भने–“अहिलेको प्रतिस्पर्धी अवस्थामा बैकका सीईओले यो लक्ष्य पुरा गर्न सक्दैन र राजीनामा गर्न बाध्य हुन्छन् ।” २ अर्ब रुपैयाँ पुँजी बढेर ८ अर्ब रुपैयाँ पुर्याउदा सोही अनुसार व्यवसाय नबढेको र त्यसले नाफा पनि थप हुन नसकेपछि सीईओ जागिर छाड्न बाध्य हुने उनको तर्क छ ।

“५० अर्ब रुपैयाँ निक्षेप भएको बैंकले अहिले शत्प्रतिशत बढाएर १ खर्ब रुपैयाँ पुर्याउन ठूलो चुनौति छ” उनले भने “यो हिसावले सबैं बैकले १० खर्ब रुपैयाँ निक्षेप बढाउनु पर्ने देखिन्छ नेपालको अर्थतन्त्रको आकार अनुसार यो सम्भव पनि छैन ।” पुँजी बढेपछि सोही अनुसार नाफा बढाउन बैंकका सीईओलाई थप चुनौति भएको उनको ठम्याई छ । निक्षेप नबढाई नाफा बढाउन नसकिने उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित सीईओले राजीनामा गर्नुमा सञ्चालक समितिसंगको विवाद मुल कारण भएको बताउछन् । “सीईओले राजीनामा गर्नु स्वास्थ्य र पारिवारिक लगायत अन्य कारण पनि छन्” उनले भने मुल कारण सञ्चालकसंग विवादले गर्दा राजीनामा गरेको देखिएको छ ।”

राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक सेवामुखी भन्दा नाफामुखी भएको आरोप लगाउँदै आएका छन् । बैंकले नाफा भन्दा सेवामा पनि जोड दिनुपर्ने सुझाएका छन् । उनले सञ्चालक समितिले सीईओलाई दवाब दिएर नाफा बढाउन मात्र जोड दिने गरेको बताउँदै आएका छन् । बैंक नाफामुखी भएकोमा उनले कार्यक्रममा असन्तुष्ठि जनाउदै आएका छन् ।

पछिल्लो समयमा पुँजी वृद्धिपछि सोही अनुसार नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी हालको अवस्था कायम राख्न बैंक तथा वित्तीय संस्थालाई थप चुनौति थपिएको सीईओहरुको भनाई छ । सेयर संख्या बढ्यो तर सोही अनुसार नाफा बढाउन सकिरहेको अवस्था नभएकाले सीईआलाई थप चुनौति देखिएको छ ।

 

 

 

Share News