काठमाण्डौं । युनिलिभर नेपाल लिमिटेडले माइती नेपालसँगको सहकार्यमा १०+ २ का छात्राकालागि हरेक वर्ष छात्रवृत्ति दिने भएको छ ।

युनिलिभर नेपाली, बेलायती, डच र भारतीय कम्पनी हो । कम्पनीको २५ औं वार्षिक उत्सव मनाउन नेपाल भ्रमणमा रहेका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यानले ‘फेयर एण्ड लभ्ली फाउण्डेशन’ को उद्घाटन गरेका हुन् ।
फाउण्डेसनले १० जना छात्रालाई दुई वर्षका लागि छात्रा वृत्ति दिनेछ । माईती नेपालका महिलाहरुले युनिलिभरको मुल्य श्रृंखलामा रोजगारको अवसर दिने उद्येश्यले व्यवसायिक सिप सम्बन्धी तालिम समेत दिनेछ।
नेपाल भ्रमणमा पोलम्यानको साथमा युनिलिभर दक्षिण एशियाका कार्यकारी उपाध्याक्ष सञ्जीव मेहता तथा युनिलिभर नेपालका अध्यक्ष प्रदिप बनर्जी पनि छन् । स्थानिय उत्पादन क्षमता बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिनेमा पोलम्यानले जोड दिए । उनले भने, ‘नेपालमा हाम्रो व्यवसायलाई थप बलियो वनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो ।’

पोलम्यानले युनिलिभरको दिगो विकासको मोडल मुल्यलाई मुल्यसँग समायोजन गर्नु रहेको बताए । समाजका लागि मनकारी ढंगले खर्च गरेर सामाजिक तथा मौद्रिक सफलता प्राप्त गर्नु उद्येश्य रहेको उनले बताए । उनले भने, ‘हामीले हाम्रा शेयर धनीहरुका लागि मात्र हैन की हाम्रा सवै सरोकारवालाहरु जो हाम्रो मुल्य श्रृंखलामा आवद्ध छन् ती सवैका लागि अझै सुन्दर र अझै बढी उज्यालो भोलीको श्रृजना गर्न प्रयासरत छौं ।’ उनले आफ्नो बसाइको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने र माईती नेपालको पनि भ्रमण गर्ने बताएका छन् ।