काठमाडौं । गत शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीले कृषि र सिंचाइमा मात्रै साढे १५ अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।
बाढीले कृषिमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकासमन्त्री रामकृष्ण यादवले बताए । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बिहान बसेको बैठकमा क्षतिका बारेमा जानकारी दिदै धानवाली नष्ट हुनुका साथै खोतियोग्य जमिन पनि खोलाहरुले कटान गरेको बताए ।
बैठकमा मन्त्री यादवले कृषिका लागि २, ३ दिनभित्र राहतका कार्यक्रम घोषण हुने जानकारी दिए । बाढी र डुवानले गर्दा तराइमा धानबाली र खेतीयोग्य जमिनमा व्यापक क्षति भएको प्रारम्भीक अध्ययनले देखाएको उनले बताए ।
यस्तै सिंचाइमन्त्री सञ्जयकुमार गौतमले बाढीका कारण सिंचाइ संरचनामा हालसम्म १२ अर्ब रुपैयाँ बराबरको क्षतिपुगेको बताए । उनले क्षतिग्रस्त संरचनाको निर्माण सुरु भइसकेको बताउदै मन्त्रालयले तत्काल २३ करोड रुपैयाँ निकासा गरेको जानकारी दिए ।
सिंचाइमा धेरै क्षति भएको बताउदै उनले २० अर्ब रुपैयाँ पुग्ने संभावना रहेको जानकारी दिए । सिंचाइको क्षतिग्रस्त संरचना बनाउने अर्बो रुपैयाँ लाग्ने मन्त्री गौतमले जानकारी दिए ।