काठमाडौं । विगत एक महिनामा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर प्रतिकित्ता १३० रुपैयाँबाट १६५ रुपैयाँ पुग्यो । यसरी सेयरको मूल्य वृद्धि हुनुको कारण कम्पनीको वित्तीय अवस्थामा सुधार भएर होइन ।

नेशनल हाइड्रो पावर कम्पनीको नेतृत्व हाथवे इन्भेष्टमेन्ट कम्पनीले लिने पूर्वतयारीसँगै कम्पनीको सेयर दैनिक १० प्रतिशतसम्मले वृद्धि भएको थियो ।
हाथवे इन्भेष्टमेन्टको तर्फबाट अम्बिकाप्रसाद पौडेलले सबैको सहमति भएमा नेशनल हाईड्रो पावरको नेतृत्व लिन आफू तयार भएको बताएका थिए ।
तर बंगलबार सम्पन्न नेशनल हाईड्रोपावरको साधारणसभाबाट सर्वसहमतिमा चुनिएका सञ्चालकहरुको सूचिमा पौडेलको नाम छैन ।

निर्वाचित कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, एलसन श्रेष्ठ, नवराज नेपाल र सुशिला कुमारी शर्मा छन् ।
नबराज नेपाल हाथवे इन्भेष्टमेन्ट नेपालको बोर्ड मेम्बर हुन् । तर नेशनल हाईड्रोपावरमा उनको प्रतिनिधित्व हाथवेबाट सस्थागत नभई व्यक्तिगत लगानीकर्ताको हैसियतमा भएको हाथवे इन्भेष्टमेन्ट नेपालका प्रबन्ध निर्देशक अम्बिका पौडेलले बताए ।
नेशनल हाइड्रोपावरको साधारणसभा पूर्व हाथवेले उक्त कम्पनीको नेतृत्व गर्ने विषयमा छलफल भएको, त्यसमा आफूले सकारात्मक भूमिका खेलेको तर हालको बोर्डमा हाथवेको तर्फबाट कुनै पनि प्रतिनिधित्व नभएको उनले बताए ।
मंगलबार नै नेशनल हाइड्रोपावरको सेयर कारोबार उच्च भएको छ । मंगलबार मात्र नेपाल स्टक एक्सचेन्जमा नेशनलको ४ करोड ६१ लाख ४५ हजार ६९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१६ करोबारबाट २ लाख ८० हजार कित्ता सेयर किनबेच भयो । मंगलबार सो कम्पनीको सेयर प्रतिकित्ता १५९ देखि १७१ रुपैयाँमा कारोबार भयो र २६५ रुपैयाँमा कारोबार बन्द भयो ।
के हाथवे इन्भेष्टमेन्ट कम्पनीले नेशनल हाइड्रोपावर कम्पनीको सेयर बेच्न थालेको हो रु लगानीकर्तामा आंशका पैदा भएको छ । हाथवेले नेशनल हाईड्रोबाट हात झिकेको अवस्थामा यस कम्पनीको सेयर मूल्य घट्ने अनुमान गरिएको छ ।
नेशनल हाइड्रो पावर नेपाली सेयर बजारको सर्वाधिक विवादस्पद कम्पनी हो । २१ वर्ष पुरानो यस कम्पनीले अहिलेसम्म सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश बाँढ्न सकेको छैन । यस कम्पनीको सेयर मूल्य कहिले ३५ रुपैयाँमा झरेको छ त कहिले ७०० रुपैयाँ नाघेको इतिहास छ ।
सेयर मूल्यमा ज्यादा उतारचढाब हुने यस कम्पनीको सेयरबाट संगठित रुपमा प्ले गर्ने थोरै लगानीकर्ताले मनग्य कमाएका छन् भने असंगठित धेरै लगानीकर्ताले निद्रा हराम हुनेगरी गुमाएका छन् ।